पोखरामा नव वर्ष महोत्सव सुरु
2022-04-14 16:18:21cri
Share with:

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिनाभित्रमा  पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने दाबी गर्नुभएको छ । पश्चिमाञ्चल होटल सङ्घको आयोजनामा पोखरामा बुधबारदेखि सुरु १७औँ फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै मन्त्री आलेले विमानस्थलको ९३ प्रतशित निर्माण  सम्पन्न भइसकेको जानकारी दिनुभयो । विमानस्थलको समस्याका रूपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएको पनि बताउनुभयो ।

त्यस्तै पोखराको ल्यान्डफिल्ड साइट नयाँ स्थानमा व्यवस्था गर्न पोखरा महानगरलाई आग्रह गर्नुभयो । मन्त्री आलेले लेकसाइडस्थित रत्नमन्दिर र हिमागृह क्षेत्र वैशाखदेखि नै सर्वसाधरणका लागि खुला गरिने योजना रहेको जानकारी पनि दिनुभयो । यसबाट पर्यटन व्यवसाय थप आकर्षित हुने उहाँको भनाइ छ । कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय क्रमशः उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पोखराको पर्यटन बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउन निर्देशनसमेत दिनुभयो । उहाँले आगामी बजेटमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महोत्सवमा नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको वयवसायीले बताएका छन् । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । गोप।