वर्षको पहिलो दिन पोखरा पर्यटकमय
2022-04-15 15:43:51cri
Share with:

लामो समय तुवालोले धुम्म भएको पोखराको आकाश नयाँवर्ष २०७९ को पहिलो दिन बिहानै खुल्यो। नयाँवर्षको स्वागतमा फेवातालकिनार रातभर गुन्जायमान बनेको थियो। स्थानीयवासी मात्रै होइन, विदेशी पर्यटकसमेत गीत–संगीतमा झुम्मिएका थिए। कोरोना महामारीका कारण रोकिएको नववर्ष महोत्सव दुई वर्षपछि आयोजना गरिएको थियो। नयाँवर्षका दुई दिन पोखराका होटलमा ८० प्रतिशत अकुपेन्सी रहेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। उनका अनुसार यहाँका चल्तीका होटल एक हप्ताका लागि भरिभराउँछन्।

कोरोना महामारीका कारण ठप्प बनेको पर्यटन उद्योग पर्यटक आगमनसँगै चलायमान हुन थालेको व्यवसायीले बताएका छन्। आन्तरिक र भारतीयमात्र होइन तेस्रो मुलुकका पर्यटक आगमन बढ्दो क्रममा देखिएको छ। नयाँ भेरियन्ट नआए पर्यटन उद्योगले लय समाउने गरी पर्यटक आगमन बढ्दो रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो।

संघका अध्यक्ष सुवेदीका अनुसार तेस्रो मुलुकका पर्यटक आगमन पनि बढ्दो क्रममा रहेकाले पर्यटन उद्योगमा नयाँ आशा पलाएको छ। पर्यटकीय सहर पोखराका होटलमा ४ अर्बभन्दा बढी लगानी रहेको सुवेदीको भनाइ छ। १ हजार २ सय होटलमा १५ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।  

कोभिडका कारण पर्यटक आगमन शून्य रहँदा यति ठूलो लगानी जोखिममा परेको थियो। सरकारले राहत र पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने व्यवसायीले बताएका छन्। पोखराको पर्यटन उद्योगमा कुल लगानी ५ खर्बभन्दा बढी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईको भनाइ छ।

पोखरामा बर्सेनि कति पर्यटक आउँछन् भन्ने एकिन तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाहेक अरू सरकारी निकायले राख्ने गरेका छैनन्। यहाँका व्यवसायी नेपालमा आउने पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको अनुमान गर्छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०२२ को तीन महिनाको तथ्याकले पर्यटक आगमन बढ्दो देखाएको छ। जनवरीमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ९ सय ७६ पर्यटक पदयात्रामा पुगेको तथ्यांक छ। त्यसमा सार्क मुलुकका ५ सय ३ र त्यसबाहेकका ४ सय ७३ जना रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी अशोक सुवेदीको भनाइ छ। फेब्रुअरीमा पर्यटक आगमन १ हजार ५ सय ८७ छ। सार्क मुलुकका ५ सय ३० जना आउँदा त्यसबाहेकका १ हजार ५७ रहेको एक्यापको तथ्यांक छ। मार्चमा एकै महिना १२ हजार २ सय १९ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गरेको पाइएको छ। जसमा सार्क मुलुकका ७ हजार २ सय ६० र अन्य मुलुकका ४ हजार ९ सय ५९ जना छन्।