जेठ १५ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा संचालनमा
2022-04-16 15:07:05cri
Share with:

यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा संचारकर्मीहरुसँग देशभरको हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको बताउनुभयो। ‘जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि काठमाडौं विमानस्थललाई २४ घन्टा संचालन गर्दैछौं,’ उहाँले भननुभयो।

यसअघि ०७५ जेठमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा संचालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म संचालनमा ल्याएका थिए। यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुन: उडान संचालनको समय घटेको थियो। त्यसपछि कोभिडका कारण लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल संचालन समय पनि खुम्च्याइएको थियो।

यसैबीच कान्तिपुर अनलाइनका अनुसार प्राधिकरणले बिहीबारदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछ। ‘वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछौं,’ महानिर्देशक अधिकारीले भन्नुभयो, ‘वैशाख ८ गतेदेखि आन्तरिक उडान गर्ने बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ वटा वायुसेवाले नयाँ धावनमार्ग प्रयोग गर्नेछन्।’

अब पाइलटले वैशाख ८ पछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन्। ‘हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाहरुबारे विस्तृत प्राविधिक जानकारी एयरर्‍याक (एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौं। अब पाइलटले ककपिटमा र आफ्ना उपकरणमा भैरहवा विमानस्थलको पुरानो संरचनालाई चिन्ने छैनन,’ उहाँले भन्नुभयो। उनीहरुले अध्यावधिक गरिएको धावनमार्ग लगायतको प्राविधिक सूचना जेप्सन चार्टमार्फत पाउने भएकाले नयाँ धावनमार्ग बिहीबारदेखि संचालन हुन लागेको हो ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि संचालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीबाट हुने छन्। तर, विदेशबाट आएका जहाज सिमराको आकाशमा होल्डमा फन्को लगाउनुपर्ने अवस्था आइहाले अब बंगलादेश र भारततर्फ डाइभर्ट हुनुपर्ने छैन। ‘अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै इमरजेन्सी कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्,’ महानिर्देशकले भन्नुभयो,‘त्यहाँको टावर हामीले फागुन पहिलो सातादेखि नै संचालनमा ल्याइसकेका छौं। न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ।’

कोरोनाको असर कम देखिएसँगै अहिले काठमाडौं विमानस्थलमा यात्रुको अत्यधिक चाप देखिन्छ । आन्तरिक उडान ५ घन्टासम्म डिले भइरहेका छन्। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, दैनिक ३ सय ७० हाराहारी उडान भइरहेको काठमाडौंमा ४ सय १६ सम्म हुन थालेका छन् । दैनिक कम्तीमा २५ हजार यात्रु ओहोरदोहोर भइरहेका छन्। मौसमका कारण उडान प्रभावित हुँदा यात्रुको चाप टर्मिनल भवनले थेग्न सकिरहेका छैनन् ।

यो समस्या तत्काल हल गर्ने उद्देश्यले अब प्राधिकरणले रात्रि सुविधा भएका भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म संचालनमा ल्याउने निर्णय गरेको छ । यसअघि राति बढीमा १० बजेसम्म विमानस्थल खुल्थे । यो निर्णयले स्थानीय सहरमा कोभिडको मार खेपेका होटल, ट्याक्सी लगायतका पर्यटन व्यवसाय पनि चलायमान हुनेछन् । साथसाथै काठमाडौंले क्षमताभन्दा बढी थेग्नु परेको चापमा पनि कमी आउने छ । उडान ढिलाइ भएकै कारण घन्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले ब्यहोर्नुपर्ने सास्ती हटेर जाने भनिएको छ। त्यस्तै काठमाडौं विमानस्थलमा अवतरण गर्न नपाउँदा अन्तर्राष्ट्रिय उडानतर्फ २ घन्टासम्म सिमरामाथि आकाशमा फन्को लगाउनुपर्ने बाध्यता पनि कमी हुने प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले ७० वर्षअघिका देशभरका सबै टर्मिनल भवनलाई दुई वर्षभित्र भत्काएर नयाँ व्यावसायिक बनाउने भएको छ । ‘भारतको सहयोगमा बनाइएका भवनहरु चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौं,’ अधिकारीले भन्नुभयो।