नेपाल सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने
2022-04-16 15:08:34cri
Share with:

सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ बराबरको) सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो। विश्व बैंकले दिएको ऋण ३२ वर्षमा चुक्ता गर्नुपर्ने छ। यसको ब्याजदर वार्षिक ०.७५ प्रतिशत हुनेछ।

उहाँले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन (करिब ७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो।

त्यसैगरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको कारोबार अनलाइनले खबर लेखेको छ।