नेपालको पर्यटन क्षेत्र पूर्ववत् हुन लागेको संकेत, पर्यटकका कारण चहलहपल
2022-04-17 16:26:02cri
Share with:

नयाँ वर्षमा प्रमुख गन्तव्यका सबै होटल भरिभराउ भएका छन्। कोभिड महामारीको त्रास घटेसँगै आन्तरिक पर्यटकले नै होटल भरिएका हुन्। पर्यटन व्यवसायीका अनुसार चैतको पहिलो हप्ताबाटै आन्तरिक पर्यटकको संख्या बढेको थियो। वैशाखसम्म आइपुग्दा काठमाडौंआसपासका होटल तथा रिसोर्ट र काठमाडौंबाहिर पोखरा, चितवनका होटल ‘फुल’ भएको उनीहरू बताउँछन्। २ वर्षपछि होटल शतप्रतिशत बुकिङ हुनथालेसँगै व्यवसायीलाई उत्साहित बनाएको छ। महामारीको समयमा विदेशी पर्यटक ठप्प हुँदा आन्तरिक पर्यटक समेत बाहिर निस्किएका थिएनन्।

अहिले दैनिक कोरोना संक्रमितको संख्या २० भन्दा तल पुगेको छ। योसँगै नेपालीहरू घुमघामका लागि तयार भएको व्यवसायीहरूको भनाइ छ। होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले नगरकोट, धुलिखेल, चितवन, पोखराका होटल पूरै बुकिङ भएको बताउनुभयो। सरकारले महामारीको बीचमा लगाएका मापदण्ड खुकुलो बनाएको छ। क्वारेन्टिन बस्नुपर्ने, खोप कार्डलगायत विषय खुकुलो भएका छन्। नेपालमा पनि अधिकांशले कोभिड खोप लगाएको कारण बाहिर निस्किने बढेको देखिन्छ।

नेपालखबर अनलाइनका अनुसार मार्चसम्मको तथ्यांकले कोभिड महामारीमा ठप्प भएको पर्यटन जुर्मुराउँदै गएको छ। मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार भारतीय पर्यटक शतप्रतिशत आउनथालेको बताएका छन् भने बंगलादेशबाट पहिलाको तुलनामा ११ प्रतिशत बढी पर्यटक भित्रिएका छन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले चितवनका होटलमा भारतीय पर्यटकको आगमन बढेको बताउनुभयो। ‘भारतीयसँगै विदेशी पर्यटकको संख्या बढेको छ’, भट्टराईले भन्नुभयो, ‘नेपालीहरूले डेस्टिनेसन परिवर्तन गरेका हुन् कि नयाँ वर्षमा धेरै क्राउड (भीड) छैन।’

त्यसो त हिमाल आरोहण अनुमति पाउनेको संख्या पनि बढ्दै छ। चैत ३० गतेसम्म ६ सय ८९ जनाले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन्। जसमा ८४ वटा टिमका ५ सय ३८ पुरुष र १५१ महिला आरोही रहेको पर्यटन विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि ३१ टिमका २ सय ५० जनाले आरोहण अनुमति पाएका छन्। पर्यटन विभागले हिमाल आरोहण अनुमति पाएसँगै ३७ करोड ३८ लाख राजस्व उठाएको छ। अमादब्लममा ६५, अन्नपूर्ण २६, बरुत्से २० धौलागिरिमा २७, हिमलुङ ३१, कञ्चनजंघा ६१, ल्होत्से ८१, मकालु आरोहणका लागि ३९ जनाले अनुमति पाएका छन्।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले विदेशीसँगै आन्तरिक पर्यटक बढ्दा होटल भरिभराउ हुनथालेको बताउनुभयो। हाल नेपालको पर्यटन ‘रिभाइभ’ भएको उहाँको बुझाइ छ। नयाँ वर्षअघि नै सबै सहरमा होटलमा भरिभराउ पर्यटक हुनथालेका छन्।

यसैबीच नेपालमा पर्यटकको गतिविधि बढेसँगै त्रिभुवन विमानस्थलमा चाप बढेको छ।चीनलगायतका देशबाट नियमित उडान हुन नसके पनि अरु देशमा नियमित उडान सुरु गरेको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले चीनबाहेकका गन्तव्यमा उडान सुरु गरेका छन्।