नेपाली चिकित्सक सगरमाथा आरोहणमा
2022-04-19 15:44:48cri
Share with:

कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि काठमाडौंकी एक ३० वर्षीया चिकित्सक सगरमाथा आरोहणमा निस्कनु भएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत अर्घाखाँचीकी मेडिकल अफिसर प्रिती भुसाल यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चढ्न शुक्रबार त्यसतर्फ लाग्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। 

‘कोभिड माहामारीका बेला फ्रन्टलाइनर चिकित्सक, नर्स, फर्मासिष्ट, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्दैछु,’ आइतबार नाम्चे पुग्नु भएको भुसालले भन्नुभयो।

७५ हजार सलामी दस्तुर पर्यटन विभागमा बुझाई नेपाली आरोहण दलको एकल नेतृत्व गर्दै गएकी प्रितीलाई हिमालयन सेपर्ड इको टुरिजमका तर्फबाट पेम्बा दोर्जे शेर्पाले गाइड गर्ने छन्। ढाकाबाट एमबीबीएस अध्ययन गरेकी भुसालले आफ्नो आरोहण अभियानले जलवायु परिवर्तनको असर र उच्च हिमाली भेगमा बढ्दै गइरहेको प्रदूषणबारे पनि जागरण गराउने बताएकी छन्।