चिनियाँ बजारमा लोकप्रिय हुँदै रसुवाको पानी
2022-04-19 15:37:24cri
Share with:

नेपालमा प्रशोधित पानी विदेश पनि निर्यात हुन्छ। यस्तै एउटा व्यावसायिक कम्पनी हो 'रुद्रगंगा नेचुरल वाटर प्रालि'। प्रशोधन कारखाना रसुवाको धुन्चेमा रहेको कम्पनीले 'रसुवा नेचुरल स्प्रिङ वाटर' नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा 'रसुवा ब्रान्ड' भन्ने गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीका अनुसार रसुवा ब्रान्डको पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो। कम्पनीले एक वर्षअघि, सन् २०२१ फेब्रुअरीमा पहिलो निर्यात गरेको थियो। चीनका वितरकले धेरै वटा प्रदर्शनी र मेलामा सहभागी गराए। सबै ठाउँबाट राम्रो प्रतिक्रिया आयो। 

'एक वर्षमा ४० हजार लिटर पानी चीन पठायौं,' अध्यक्ष भण्डारीले भन्नुभयो। कम्पनीले ३३० मिलिलिटर (एमएल), ५०० एमएल र एक लिटर परिमाणका बोतलमा तथा १९ लिटरको जारमा पानी प्याकेजिङ गरिरहेको छ।

भण्डारीका अनुसार हालसम्म चीनमा ३३० एमएलको बोतल मात्रै पठाइएको छ। चीनबाट पाँच लिटरको प्याकेजिङको माग आएकाले त्यसको तयारी गरिरहेको उहाँले बताउनुभयो। यो पानी चीनमा कफी र ग्रिनटीमा रुचाइएको उहाँको भनाइ छ।

दक्षिण चीनमा नेपाली पानीको व्यापार राम्रो भएको भनेर आफूले बधाइपत्र पाएको पनि भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, 'नेपालको नाम राख्ने र चीनको माग पूरा गर्ने गरी उत्पादन बढाउन कन्सुलर हरिशरण पुडासैनीले पत्र पठाउँदा हाम्रो हौसला बढेको छ।' 

बेइजिङबाट पनि राम्रो प्रतिक्रिया आएको छ। कम्पनीले चीनमा गरेको मार्केटिङका कारण पनि चीनको बजारमा आफ्नो ब्रान्ड रुचाइएको भण्डारी बताउनुहुन्छ। अब एक वर्षमै सय कन्टेनरभन्दा बढी पानी चीन निर्यात हुने उहाँको अपेक्षा छ। 

चीनपछि कम्पनीले रसुवा पानी कतारमा निर्यात गरेको छ। सुरूमै कतार निर्यात गर्ने लक्ष्य लिए पनि कोरोना संक्रमणका कारण समय पर सरेको हो। उहाँका अनुसार निर्यात गर्नुअघि पानीको प्रयोगशाला परीक्षण गर्नुपर्छ, सम्बन्धित मुलुकको सरकारको स्वीकृति चाहिन्छ। त्यहाँको भाषामा लेबलिङ लगायत काम गर्नुपर्छ।

'पानीको गुणस्तर परीक्षणको नतिजा देखेर कतारीहरू चकित भए,' भण्डारी भन्नुहुन्छ, 'आहा, पानी पनि यस्तो भनेर उनीहरू अचम्ममा परे।'

सन् २०२० मार्च २७ र २८ मा कतारको दोहामा 'वर्ल्ड एग्रिकल्चरल एक्जिभिसन' थियो। त्यहाँ नेपालका ६ वटा कम्पनीले निःशुल्क स्टल पाएका थिए। तीनमा रसुवा पानी पनि थियो। कोरोना संक्रमण फैलिएर अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सहभागिता हुन सकेन। 

भर्खरै बजार प्रवेश गर्ने सुरसारमा रहेको कम्पनी ठूलो प्रदर्शनीमा सहभागी हुन नपाउँदा भण्डारीलाई निकै तनाव भयो। परिस्थिति सामान्य भएपछि कम्पनीले हवाइमार्गबाट १५ हजार लिटर पानी कतार पुर्‍याएको छ। 

अब कतारमा हुने फिफा विश्वकप फुटबलको अवसरमा पानी निर्यात गर्ने विशेष योजना छ।

भण्डारी भन्नुहुन्छ, 'विश्वकपमा पुग्यौं भने राम्रो मार्केटिङ हुन्छ भन्ने विश्वास छ। त्यहाँ स्थान पाउँछौं कि भन्ने अपेक्षा छ।' कम्पनीले पानी अस्ट्रेलिया पनि पठाएको छ। त्यहाँ पहिलो खेपमा १८ हजार लिटर पठाएको र हङकङबाट पनि माग आएको भण्डारीले बताउनुभयो। हङकङ पठाउने तयारी हुँदैछ। दुबईबाट ५० हजार लिटरको माग आएकोमा २२ हजार लिटर पुगिसक्यो। अन्य मुलुकमा पनि निर्यातको योजना बन्दै गरेको भण्डारीले बताउनुभयो। 

अन्तर्राष्ट्रिय बजारमा ५०० एमएल पानीको बोतलको मूल्य नेपाली रूपैयाँ ४० र ३३० एमएलको ३० रूपैयाँ तोकिएको छ। यताबाट कम्पनीले लोड गरेर पठाउँछ। ढुवानी भाडा सम्बन्धित मुलुकका व्यवसायीले बेहोर्छन्।

भण्डारी भन्नुहुन्छ, 'हामी कारखाना मूल्यमा पठाउँछौं। जुन मुलुकमा गए पनि एउटै मूल्य हो।'

हवाई जहाजबाट पठाउँदा महँगो भाडाका कारण उपभोक्ता मूल्य बढी पर्ने उहाँले बताउनुभयो। दोहामा ५०० एमएल पानीको उपभोक्ता मूल्य साढे तीन रियाल अर्थात नेपाली रूपैयाँ एक सयभन्दा बढी पर्छ। खाडी मुलुकमा समुद्री मार्गबाट पठाउन सकिन्छ तर दुई महिनासम्म लाग्न सक्छ। 

छिमेकी मुलुक भारत, ओमान र जापानमा पनि पानी निर्यात गर्ने योजना कम्पनीको छ। जापानका लागि अर्डर लिने, प्रयोगशाला परीक्षण गर्ने र प्याकेजिङ गर्ने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो।

'नेपालको पानी राम्रो प्याकेजिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्यौं भने एकातिर आम्दानी हुन्छ, अर्कातिर नयाँ उद्योगीले मौका पाउँछन्,' भण्डारी भन्नुहुन्छ, 'सरकारले निर्यातमा जोड दिएको छ। बढाउन सक्यौं भने व्यापार घाटा कम गर्न सकिन्छ।' 

नेपालको प्रशोधित पानीको गुणस्तरमा विश्वास नहुँदा कतिपय उपभोक्ताले महँगो शुल्क तिरेर विदेशी ब्रान्डका पानी पिउने गरेको उनी बताउँछन्। विदेशी ब्रान्डको पानी लिटरको दुई सयदेखि पाँचसय रूपैयाँसम्म पर्छ।