बोआओ फोरमले सहयोगात्मक सम्बन्ध विकास गरिरहेको नेपालकी राष्ट्रपतिको भनाइ
2022-04-22 15:55:55cri
Share with:

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्थापनाकालदेखि नै बोआओ फोरमले एसियाली मुलुकबीच सहयोगात्मक सम्बन्ध विकास गरी आर्थिक, सामाजिक र वातावरणीय विषयहरूमा निरन्तर विचार आदानप्रदान गर्दै आएको बताउनु भएको छ। उहाँले कोभिड महामारीपछिको परिवेशमा विश्वका राष्ट्रहरूको विकास र साझा भविष्यका लागि सहकार्य गर्ने मूल उद्देश्यका साथ बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन हुन लागेकामा अत्यन्तै खुसी लागेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

फोरमलाई बिहीबार भर्चुअल रूपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले फोरमको संस्थापक सदस्यका रूपमा नेपालले यस कार्यको सदैव सराहना गर्ने बताउनुभयो। सन् २००१ मा स्थापना भएको यो फोरमको कार्यालय चीनको हाइनान प्रान्तमा छ। यसको अध्यक्ष संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुन हुनुहुन्छ।

यस फोरमले गरिबी निवारणमार्फत आर्थिक विकास गर्न चीनले प्राप्त गरेका सफलता उजागर गरी यस क्षेत्रका देशहरू बीचमा अनुभव र ज्ञान साझा गर्न महत्त्वपूर्ण योगदान गर्नेछ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘साथै, दिगो शान्ति र राजनीतिक स्थायित्व कायम भएको अवस्थामा नै विकासका प्रक्रियालाई तीव्रता दिन र नागरिकको जीवनस्तरलाई माथि उठाउन प्रभावकारी योगदान पुर्‍याउन सकिन्छ भन्ने विषय उजागर गर्न फोरमको आयोजक राष्ट्र चीनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने लागेको छ

उहाँले पछिल्ला दुई वर्षमा कोभिड महामारीका कारण विश्वले ठूलो मानवीय एवं आर्थिक क्षति व्यहोर्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसबाट विशेषगरी गरिब र अल्पविकसित मुलुकहरू प्रभावित हुन पुगेका छन्। गरिबी निवारण गरी दिगो आर्थिक विकास हासिल गर्ने दिशामा यी मुलुकले केही वर्षदेखि गरेको प्रगति महामारीका कारण पछाडि धकेलिन पुगेको छ। यस विशिष्ट सन्दर्भमा आयोजित बोआओ फोरमले महामारी नियन्त्रण तथा रोकथाम र आर्थिक पुनर्उत्थानका लागि राष्ट्रहरूले अपनाउनुपर्ने उपायहरूमाथि गम्भीर छलफल गर्नेछ

राष्ट्रपति भण्डारीले यस अवसरमा विश्व स्वास्थ्य संगठन तथा सदस्य मुलुकहरूलाई द्विपक्षीय सहयोग तथा कोभ्याक्स सहायतामार्फत उपलब्ध सहयोगका लागि नेपाल र नेपाली जनताका तर्फबाट धन्यवाद दिनुभयो। उहाँले विश्व तापमानमा भइरहेको वृद्धि रोक्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई हरेक राष्ट्रले कार्यान्वयन गर्नैपर्ने बताउनुभयो।