नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.७ मात्र रहने
2022-04-22 16:01:34cri
Share with:

विश्व बैंकले यस वर्ष अर्थात् सन् २०२२ मा नेपालले ३.७ प्रतिशत बराबर मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ। नेपाल डेभलपमेन्ट अपडेटसार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको कान्तिपुर अनलाइनले लेखेको छ। नेपालले चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

नेपालको प्रक्षेपणभन्दा करिब आधा बराबर मात्रै आर्थिक वृद्धिदर देखिने र यस्तो संकुचन अघिल्ला वर्षहरुमा पनि देखिनेछ। विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदरमा संकुचन यस वर्ष मात्र नभई आगामी २ वर्षसम्मै देखिनेछ। नेपालले सन् २०२३ मा ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ।

नेपालको अर्थतन्त्रमा कोभिड महामारीको गहिरो असर देखिएका कारण वृद्धिदर खुम्चिएको विश्व बैंकले जनाएको छ। मुख्यगरी बाह्य क्षेत्र व्यवस्थापनका लागि नेपालले कदम चाल्नुपर्ने देखिएको छ। प्रभावकारी खोप कार्यक्रम, रेमिट्यान्स, पर्यटनलगायतका क्षेत्रबाट नेपालले विस्तारै लय समात्दै गएको देखिए पनि द्रुतदरको आर्थिक विकासका लागि भने यो पर्याप्त नभएको तथा द्रुतदरको आर्थिक विकासका लागि साहसी खालका नीतिगत निर्णय नेपालले चाल्नुपर्ने सुझाव पनि विश्व बैंकले दिएको छ।

उच्च व्यापारिक आयात र कम रेमिट्यान्सले चालु खाता घाटा बढाइरहेको छ। जसकारण बाह्य क्षेत्रमा चाप बढ्दै गएको छ। नेपालमा महामारीपछि पर्यटन तथा सेवा निर्यातमा प्रगति देखिन नसकेको, रोजगारी गुमाउनेहरुको संख्या बढ्दै गएको र ठूला वित्तीय आवश्यकताहरु पूरा गर्न समस्या हुँदै गएको पनि विश्व बैंकले जनाएको छ। यसअघि एसियाली विकास बैंक (एडीबी) ले पनि नेपालले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने प्रक्षेपण सार्वजनिक गरेको थियो। एसियन डेभलपमेन्ट आउटलुक २०२२ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो।

कोभिड महामारी विरुद्धको खोप अभियान प्रभावकारी हुँदा आर्थिक वृद्धिदर बढ्ने अनुमान गरिएको भएपनि पछिल्लो पटक रुसयुक्रेन युद्धको असर अर्थतन्त्रमा देखिएको एडीबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। एडीबीले सन् २०२३ का लागि भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको छ।