कृषि गणनामा सात हजार दुई सय कर्मचारी
2022-04-22 16:03:19cri
Share with:

नेपालको केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ। सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि सात हजार दुई सय कर्मचारी खटाएको गोरखापत्र अनलाइनले लेखेको छ। विभागले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका निर्देशक डा. महेश सुवेदीले कृषि गणनाकै लागि आव २०७७/७८ मा पाँच करोड रुपियाँ खर्च भइसकेको, चालू आर्थिक वर्ष ७२ करोड र आगामी आर्थिक वर्ष नौ करोड रुपियाँ खर्च हुने जानकारी दिनुभयो। 

वैशाख ६ गतेदेखि जेठ मसान्तसम्म चल्ने कृषि गणनाका लागि पाँच हजार १५० गणक, एक हजार ३५० सुपरिवेक्षक तथा ७७ जना कृषि गणना अधिकृतसहित सात हजार दुई सय कर्मचारी खटाइएको विभागले जनाएको छ। ७५३ वटै स्थानीय तहका तीन लाख ५० हजार किसानसँग प्रश्न सोधेर जानकारी सङ्कलन गर्न ८० वटा प्रश्न तयार गरिएको छ। कृषि परिवार सूचीकरण, कृषि परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली तयार गरेको छ। तथ्याङ्क सङ्कलनमा कागजी प्रश्नावलीको नै प्रयोग गरिनेछ भने काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लामा ट्याबलेट प्रयोग गरिने विभागले जनाएको छ। 

कृषि गणना गर्दा पहाडमा चार आना र तराईमा आठ धुर जमिन हुनेलाई किसान मान्ने मापदण्ड बनाइएको छ। एउटा गाई वा भैँसी अथवा पाँचवटा भेडाबाख्रा चौपाया अथवा २० वटा घरपालुवा पन्छी हुनेलाई पनि किसान मानिएको विभागका महानिर्देशक डा. हेमराज रेग्मीले बताउनुभयो। 

कृषि गणनाले किसानको हरेक गतिविधिलाई समेट्ने बताउँदै उहाँले यस पटकको कृषि गणनामा सार्वजनिक चौर÷चरन, पोखरी÷ताल, उद्यान÷पार्क, खाली जग्गा, मुख्य बाली, कृषि कामदारको औसत ज्यालादार, कृषि संरचना लगायतको विवरण सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो।