नेपालले आयातमा कडाइ गर्दा भन्सार राजस्वमा असर
2022-04-24 16:25:13cri
Share with:

चालु आर्थिक वर्षको नौ महिनासम्ममा नेपालमा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व संकलन भएको छ। भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व संकलन गरेको कारोबार अनलाइनले लेखेको छ।

चैत मसान्तसम्ममा ७ खर्ब ८९ अर्ब रुपैयाँको कुल राजस्व संकलन भएकोमा भन्सार विन्दुबाट मात्रै ४७.०२ प्रतिशत राजस्व संकलन भएको हो। जुन अघिल्लो महिनाको अनुपात भन्दा कम हो। फागुन महिनामा सो अनुपात ४८.६३ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले आयातमा कडाइ गरेसँगै त्यसको असर राजस्वमा देखिन थालेको हो। अपेक्षित रुपमा आयात नघटे पनि त्यसले राजस्वको अनुपातमा भने केही असर पारेको छ। फागुन महिनामा ९ प्रतिशतले बढेको भन्सार राजस्व चैत महिनामा २.७७ प्रशितशले नकारात्मक भएको छ। फागुनमा ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजस्व भन्सार विन्दुबाट संकलन भएको थियो भने चैत महिनामा ३८ अर्ब २४ करोड रुपैयाँ बराबरको भएको भन्सार विभागले जनाएको छ।
आयात बढ्दा त्यसले विदेशी विनिमय सञ्चितिमा पारेको प्रभावलाई कम गर्न राष्ट्र बैंकले कतिपय सामानमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। तर, आयतामा खासै असर नपर्दा चैत २३ देखी सवारीसाधनको एलसी नखोल्न राष्ट्र बैंकले बैंकहरुलाई मौखिक आदेश समेत दिनुपरेको थियो। त्यसैले पनि चैत महिनामा सवारीसाधनको आयातबाट उठ्ने राजस्व अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले घटेको विभागले जनाएको छ। फागुन महिनामा सवारीसाधनको आयातबाट मात्रै ६ अर्ब १८ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएकोमा चैत महिनामा २३.१३ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।
आयातमा थोरै नियन्त्रण गर्दा त्यसको असर राजस्वमा पर्ने अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताउनुभयो। तर, पहिले नै एलसी खोलेका सामानहरुको आयात भइरहेका कारण अहिले नै त्यति धेरै प्रभाव नपरेको उहाँको तर्क छ। “आयातमा नियन्त्रण गर्दा राजस्वमा त्यसको असर त पर्छ नै। तर पहिले नै एलसी खोलिएका सामानहरु आयात भइरहेको हुँदा राजस्वमा त्यति धेरै असर परिसकेको छैन। अवस्था सहज भएपछि एलसी खोल्न दिइने भएकाले सन्तुलनमा आउँछ जस्तो लाग्छ।’
भन्सार विन्दुबाट उठ्ने राजस्वमा कमी भए त्यसको सट्टा अन्य स्रोतको खोजीमा भने अर्थ मन्त्रालयले कुनै योजना बनाएको छैन।

चालु आर्थिक वर्ष २०७८-०७९ को ९ महिनासम्म आइपुग्दा १३ खर्बभन्दा माथि व्यापार घाटा पुगेको छ। साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ। विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ। साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ। जसका कारण व्यापार घाटा १३ खर्ब भन्दा माथि पुगेको हो। बाँकी तीन महिनामा चालू आवको लागि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेकमार्फत ल्याएको १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटभन्दा व्यापार घाटा बढी हुने तथ्यांकको प्रबृत्तिले देखाउँछ।
यस्तै, विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा त्यसपछिका तीन महिनामा राष्ट्र बैंकले गरेको कडाइका कारण उच्च आयातको दर केही सुस्ताउन थालेको छ। भन्सार विभागका अनुसार चैत मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको आयात भएको छ। जुन गत आवको चैतसम्मको तथ्यांकभन्दा ३१.९७ प्रतिशत धेरै हो। किनकि गत आवको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोडको वस्तु आयात भएको थियो।
यसैगरी, चैतसम्ममा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको छ। चैत महिनामा मात्र १३ अर्बको वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ। चैत मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा ९.८७ प्रतिशतमात्र छ। निर्यातमा पनि सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयातमा २ खर्ब बाहिरिएको छ।
विभागका अनुसार नेपालको वैदेशिक व्यापारमा भारतसँग मात्र ९ महिनामा ७ खर्ब ७३ अर्ब व्यापार घाटा छ। भारतबाट नेपालले ९ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने भारततर्फ १ खर्ब २७ अर्बको निर्यात भएको छ। यस्तै, मास्क तथा स्यानिटाइजर आयातमा एक अर्ब २२ करोड बढी बाहिरिएको छ।