लुम्बिनी गुरुयोजना पूरा हुने दिशातर्फ
2022-04-25 15:27:59cri
Share with:

लुम्बिनी विकासको गुरुयोजना अब पूरा हुने दिशातर्फ अगाडि बढेको छ । स्रोत व्यवस्थापन भएकाले अबको दुई वर्षमा गुरुयोजनाको काम सम्पन्न हुने लुम्बिनी विकास कोषको दाबी छ । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले भन्नुभयो, “नेपाल सरकारले दुई वर्षमा गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ, गएको आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौँ।”

 गुरुयोजनाअनुसारको संरचना निर्माण दुई वर्षमा सम्पन्न गर्न ठेक्का प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।गुरुयोजनामा उल्लेख भएअनुसार अहिलेसम्म लुम्बिनीको सुरक्षालाई ख्याल गरी १६ किलोमिटरको सुरक्षा पर्खाल, केन्द्रीय नहर निर्माण, पवित्र क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोखरी निर्माणका काम सम्पन्न भइसकेका छन् । यसैगरी शौचालय निर्माण, विद्युतीकरण, पैदलयात्री हिँड्ने बाटो, भित्री बाटो कालोपत्रे, विभिन्न विहार निर्माण, विभिन्न महŒवपूर्ण भवन, ढल निकास, प्रशासनिक भवन, सूचना केन्द्र, सङ्ग्रहालय, पुस्तकालय, सङ्ग्रहालय, मायादेवी वरिपरि पोखरी निर्माण, १४ लाख लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण, सीसीक्यामरा जडान, कोषको भवन, आवासगृह निर्माणलगायतका संरचनाको काम पूरा भएको कोषले जनाएको छ ।

 लुम्बिनी विकास कोषका अनुसार जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेको गुरुयोजनाबमोजिम अब मुख्य छवटा ठूला काम बाँकी रहेका छन् । डोम आकारका छवटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि पाँच/छवटा जलाशय, हरियाली र पार्कसहितको सडकको विस्तारका काम सकिएपछि गुरुयोजना सम्पन्न हुनेछ ।

 फोहोरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यवस्थापन र केही भवन निर्माणको काम बाँकी छ । भवन निर्माणमा निजी क्षेत्रले चासो देखाएका छन् । अन्यत्रबाट स्रोत जुटेन भने नेपाल सरकारबाट सहयोग गर्ने प्रतिबद्धता पाएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ।