नेपालमा खेतबारी बाँझै रहँदा ११ अर्बको फलफूल आयात
2022-04-25 15:28:46cri
Share with:

जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ। विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ।

 नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७/०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको बिवरणले देखाएको छ ।

 विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै रु ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ। यस्ता उपभोग्य वस्तु आयात गरी अर्बौँ रकम विदेशिनबाट जोगिन सक्ने देखिन्छ ।

 निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि विदेशिएको छ । पहाडका अधिकांश भूभाग बाँझो छ । नेपालको कूल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत बराबरको जमिन बाँझो छ । झण्डै रु ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ ।

 यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ । दैनिक दुई हजारको सङ्ख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । अनौपचारिक तथ्याङ्कअनुसार झण्डै ४० लाख युवा विदेशमा छन् ।

 विप्रेषणबाट आयात भएको ठूलो धनराशि उपभोग्य वस्तुमा खर्च हुँदा त्यसले औद्योगिक वातावरणसमेत बनाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आप्रवाह भएको रकमको झण्डै ७५ प्रतिशत बराबर हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ । विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ ।

 भन्सार विभागले चालू आवको पहिलो नौ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् । धान, मकै, कोदो जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुक बाहिर गएको देखिन्छ । गोरखापत्र।