नेपालमा महाभूकम्पको सातौँ वर्षगाँठ, विपतबाट बच्न जनचेतना महत्त्वपूर्ण हुने राष्ट्रपतिको भनाइ
2022-04-25 15:25:31cri
Share with:

 राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प तथा विपत्हरूबाट बच्न जनचेतना सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभएको छ। विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको सात वर्ष पूरा भएको अवसरमा सन्देश व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

 नेपालको भौगोलिक अवस्थिति र बनावट भूकम्पीय दृष्टिले जोखिम रहेको बताउँदै राष्ट्रपति भण्डारीले कमजोर भौतिक संरचनाका कारण मुलुकले ठूलो जनधनको क्षति भोग्नुपरेको धारणा व्यक्त गर्नुभएको छ ।

 विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी एवं विपत्पूर्वको सुरक्षात्मक उपायबारेमा सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले यसका लागि सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको भूमिका महìवपूर्ण हुने बताउनुभयो।

 सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिल्नेछ भन्दै राष्ट्रपति भण्डारीले पूर्वसुरक्षामा सबैको ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

 बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो। भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

 अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो। सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो।

 विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो। दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ। नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ। यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको नागरिकन्यूज डटकमले जनाएको छ।