निजी क्षेत्रका जलविद्युत्हरूबाट उत्पादित विजुली सदुपयोग गर्ने पहल
2022-04-26 15:33:19cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् जतिसक्दो छिटो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ। प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युत्हरूबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने बताइएको छ।

 प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाको विद्युत् जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजना र ती आयोजनाहरूको विद्युत् प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा एउटा टोलीले आयोजनाहरूको निरीक्षण गरेको हो।टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, जलविद्युत् आयोजनाहरूको भ्रमण गर्यो। टोलीले आयोजनाहरूको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरूसँग छलफल गरी जानकारी लिएको थियो। कार्यकारी निर्देशक घिसिङले आयोजनाहरू जतिक्दो छिटो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउननदिने बताउनुभयो।एपी।