हवाईका लागि नेपालको आकाश सुरक्षित
2022-04-26 15:32:24cri
Share with:

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको आकाश सुरक्षित रहेको बताएको छ। सोमबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले गरेको अडिट रिपोर्टको प्रारम्भिक नतिजालाई उद्धृत गर्दै नेपाली आकाश बाहिर भनिएजस्तो असुरक्षित नभएको बताउनुभयो। आइकाओको रिपोर्टअनुसार नेपालले विश्वको औसत परिपालना अंकभन्दा तीन प्रतिशत बढी अंक प्राप्त गरेको छ। विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत छ भने नेपालको ७०.१ प्रतिशत छ। एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत छ।

आइकाओले कानुनी, संस्थागत, व्यक्तिगत, इजाजतपत्र, उडान सञ्चालन, वायुमण्डलता, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड र एक्सिडेन्ट इन्भेस्टिगेसनलाई आधार बनाएको थियो। १० सदस्यीय सम्परीक्षक टोलीले २५ अप्रिलमा नतिजा सार्वजनिक गरेको थियो। महानिर्देशक अधिकारीले एभिएसन सिस्टमलाई झन् राम्रो बनाउन सबै लाग्नुपर्ने भन्दै यो प्राधिकरण मात्रै एक्लैले गर्न नसक्ने बताउनुभयो। उहाँले जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने पनि जानकारी दिनुभयो। त्यसपछि काठमाडौं र गौतमबुद्ध विमानस्थल २४सै घन्टा सञ्चालनमा आउने बताउँदै उहाँले आन्तरिक तर्फका विमानस्थलहरू पनि १८ घन्टा सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो। त्यही भएर पनि वैशाख १५ देखि राति १२ बजेसम्म डोमेस्टिक फ्लाइटहरू सञ्चालनमा ल्याउने छौं,’ उहाँले भन्नुभयो। तराईका भद्रपुरदेखि कैलालीको धनगढीसम्मका विमानस्थलहरू राति १२ बजेसम्म सञ्चालन हुने तयारी रहेको अन्नपूर्णपोस्टमा खबर छ।