हिमाल आरोहणमा जीपीएस ट्र्याकिङ लागू गर्ने तयारी
2022-04-27 15:37:40cri
Share with:

सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिङ लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो। हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न लागिएको गोरखापत्र अनलाइनमा खबर छ।

पाइलट प्रोजेक्ट अन्तर्गत विभागले २० वटा डिभाइस खरिद गरेको र जारी सिजनमा नै पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउन खोजेको विभागका निर्देशक मोहन जिसीले बताउनुभयो।

विभागले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर ०७७ असारमै डिभाइस ल्याएको थियो । जीपीएस लागू भएसँगै हिमाल आरोहणमा हुने गलत अभ्यास रोक्न मद्दत पुग्ने विभागको विश्वास छ । आरोहण दलमा जाने आरोहीलाई जीपीएस सिस्टमको डिभाइस उपलब्ध गराएर आरोहण पठाउने विभागको तयारी छ । जसले गर्दा आरोहण भए–नभएको, आरोहण टोलीको वस्तुस्थिति पत्ता लगाउन विभागलाई सहज हुनेछ । डिभाइसकै माध्यमबाट आरोही हराएको अवस्थामा उद्धार गर्न तथा आरोहणका नाममा हुने गलत अभ्यासलाई रोक्न सहयोग पुग्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक तारानाथ अधिकारीले भने बजेटको अभावका कारण अहिलेसम्म जीपीएस लागू गर्न नसकिएको बताउनुभयो। उनले भने, “हिमाल आरोहणमा जीपीएस सिस्टम लागू गर्ने तयारीमा छौं तर बजेट अभावमा परीक्षणमात्र गर्न लागिएको हो ।”

जीपीएस सिस्टमबाट हिमाल आरोहणको यथार्थ तथ्यांक आउनेछ । डिभाइसले माइनस ४५ डिग्री सेल्सियस तापक्रममा पनि सञ्चारको दोहोरो प्रवाह गर्न सक्ने, १५ दिनसम्म ब्याट्रीले धान्नेछ । सोलारबाट पनि डिभाइस चार्ज हुनेछ । आरोहणलाई पारदर्शी बनाउन विगत ७ वर्षदेखि जीपीएस ट्रयाकिङ सिस्टम लागू गर्न प्रयास भए पनि प्राविधिक तयारी नपुगेको र बजेट अभावका कारण भन्दै विभागले सो काम पूरा गर्न सकेको छैन ।

जीपीएस डिभाइस पहिले विभागको सर्भरमा दर्ता गराइने छ । त्यसपछि आरोहीलाई डिभाइस दिएर पठाइन्छ । साथै डिभाइसलाई स्याटलाइटसँग सम्पर्क गराएर डिभाइसको रेकर्ड विभागको सर्भर सिस्टममा इन्ट्री हुने गरी प्राविधिक तयारी गरिएको छ । यसबाट कुन आरोही छ भन्ने जानकारी प्राप्त हुन्छ । विभागबाट जुन आरोहीको नाममा दर्ता छ त्यो डिभाइस सोही आरोहीले मात्र प्रयोग गर्न पाउने छन् । अन्य आरोहीले प्रयोग गरेको वा बोकेको पाइए सर्भरमा जानकारी हुनेछ । यसले गर्दा विगतमा हुने आरोहण त्रुटि र डिभाइसको गलत प्रयोग रोकिने विभागको विश्वास छ । डिभाइसले काम गर्न छोडेको अवस्थामा वा ब्याट्रीको चार्ज सकिनु अगाडि सर्भरमा आरोही रहेको अन्तिम ठेगानाको जनाकारी आउनेछ । अन्तिम पटक सर्भरमा रेकर्ड भएको डेटाको आधारमा आरोहीको उद्धार गर्न सहज हुने विभागको भनाइ छ ।

पर्वातारोहण नियमावलीको नियम ३३ बमोजिम पर्यटन विभागले हिमाल आरोहणको प्रमाणपत्र जारी गर्छ । जसमा हिमाल आरोहणको पुष्टि सम्बन्धित समूहको संयोजकले र समूहमा खटिएको सरकारी सम्पर्क अधिकृतले गर्नुपर्छ। त्यस्तै सम्बन्धित एजेन्सीले आरोहण गरेको प्रतिवेदनका साथ आरोहणको फोटो पेश गरेपछि विभागले आरोहणको प्रमाणपत्र जारी गर्ने कानुनी व्यवस्था छ।