आज नेपालमा चिया दिवस, विश्वबजारमा माग बढेपछि नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि
2022-04-28 15:47:00cri
Share with:

बिहीबार विभिन्न कार्यक्रम गरेर २६औं राष्ट्रिय चिया दिवस मनाइँदैछ। गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । प्रत्येक वर्ष वैशाख १५ गते चिया दिवस मनाइँदै आएको छ । कार्यक्रम चियासँग सरोकार राख्ने व्यक्तिको सहभागिता हुनेछ । कार्यक्रममा चिया क्षेत्रको नीतिमा केन्द्रित कार्यपत्र प्रस्तुत, चियाको प्रदर्शनी, टि टेस्टिङ हुनेछ ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको नौ हजार १७ मेट्रिक टन चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो। यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।

 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चिया उच्च गुणस्तरको भएकाले निर्यात बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो  समय चियाको उत्पादनसँगै निर्यात पनि वृद्धि हुँदै गएको छ । विश्व बजारमा माग बढ्दै गएकाले चियाको निर्यात बढाएर वैदेशिक मुद्रा आर्जन गर्न सकिने उहाँको भनाइ छ ।

 

गोरखापत्र अनलाइनका अनुसार स्वदेशमा उत्पादन भएको चिया छिमेकी मुलुक भारतसँगै अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । मुलुकमा उत्पादित चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ । वार्षिक झन्डै चार अर्ब रुपियाँको चिया निर्यात हुँदै आएकामा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि निर्यात बढाएर १० अर्ब रुपियाँको निर्यात मूल्य बनाउन सकिने सम्भावना रहेको बोर्डको अनुमान छ । चियाको आन्तरिक खपत न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धन गरी खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, युरोपेली सङ्घ, अमेरिकालगायतका मुलुकसँग जीटुजी सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

 

मुलुकमा उत्पादित चिया विभिन्न मुलुकमा निर्यात भइरहेका बेला बाहिरी मुलुकबाट समेत आयात हुने गर्छ । चालू आर्थिक वर्षको चैतसम्म ७९ करोड ३५ लाख आठ हजार रुपियाँको एक लाख ८३ हजार १८७ केजी चिया आयात भएको छ । आव २०७७/७८ मा १५ करोड १३ लाख १२ हजार रुपियाँको तीन लाख ४६ हजार ८०६ केजी चिया आयात भएको थियो ।

 

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । यसबाहेक पनि अन्य जिल्लामा चिया खेती विस्तार हुँदै गएको छ । गत वर्ष १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस व्यवसायमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको मूल्य शृङ्खलामा संलग्न छन् । बोर्डले चियाको उत्पादन बढाउन खेतीको विस्तार, प्रविधि प्रसारसँगै उद्योग स्थापनामा सहयोग गर्दै आएकोे छ । नेपाली चियाको आफ्नै क्लोन विकास गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग सम्झौता गरी प्रारम्भिक छनोटको काम अगाडि बढाएको छ।

 

मुलुकमा उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्धनका लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २६ वटा उद्योगले ट्रेडमार्क प्राप्त गरिसकेका छन् । झापा जिल्लामा उत्पादन भइरहेको सीटीसी चियाको गुणस्तरमा एकरूपता कायम गर्न मापदण्ड निर्माणको कार्य अगाडि बढेको बोर्डले जानकारी दिएको छ ।