नेपाली चियाको ‘ब्रान्डिङ’ बढाउनुपर्ने सरोकारवालाको ठहर
2022-04-29 16:50:53cri
Share with:

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको उच्च माग हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा नपरेकामा सरोकारवालाले गुनासो गर्नुभएको छ। २६औँ राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो गुनासो गर्नुभएको हो। चिया उत्पादक उद्यमी चण्डीप्रसाद पराजुलीले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग भए पनि सरकारी निकायको समन्वयको अभावले क्षमताअनुसार उत्पादन हुन नसकेको बताउनुभयो ।

 

अर्का उद्यमी दीपक बाँस्कोटाले नेपालमा विश्वमै उच्च गुणस्तरको चिया उत्पादन गर्न सकिने भए पनि यसबारे अनुुसन्धान नहुँदा नेपाली चिया ओझेलमा परेको बताउनुभयो। सरकारी तहबाट चियाको ब्रान्डिङहुन नसकेको र अहिलेसम्म जे जति ब्रान्डिङभएका छन्, ती निजी स्तरबाट भएको र त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले चियाको उत्पादन प्रवद्र्धन, विस्तार र विकासमा आफ्नो तर्फबाट सकारात्मक पहल हुने प्रतिबद्धता व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो, “चिया र कफी मात्रै होइन, कृषि मन्त्रालय नै सरकारको प्राथमिकतामा पर्दैन। कृषिमा सबैतिर यस्तै समस्या छन्, कृषि क्षेत्र सरकारको नेतृत्वले प्राथमिकता नपर्दासम्म यस्तो समस्या रहिरहन्छ।

 

बोर्डका अनुसार चालू आर्थिक वर्षको पहिला नौ महिनामा दुुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको नौ हजार १७ मेट्रिक टन चिया निर्यात भएको छ । आव २०७७/७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चिया उच्च माग भएकाले निर्यात बढ्दै गएको बताउनुभयो ।

 

बोर्डका अनुसार देशभर गत वर्ष १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस व्यवसायमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक संलग्न छन् । नेपालमा उत्पादन गरेर निर्यात हुने चियामध्ये ९० प्रतिशत भारतमा हुने गरेको छ ।

 

गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधारभन्ने मूल नाराका साथ बिहीबार राजधानीमा २६औँ राष्ट्रिय चिया दिवस मनाइयो । उक्त दिवस हरेक वर्षको वैशाख वर्ष १५ गते चिया दिवस मनाइने गरिएको छ । कार्यक्रममा उत्पादन किसान, चिया निर्यात गर्ने व्यापारी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।