साढे ४८ खर्ब बराबर पुग्यो नेपाली अर्थतन्त्रको आकार
2022-04-29 17:00:53cri
Share with:

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो। सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ। अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन्। यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पुर्याएको पाइएको छ।

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ। विभागले भनेको छ, “खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु, अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षत्रेको कूल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ।

 

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ। विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो।