२५ हिमाल आरोहणमा ८९९ जना आरोही, सगरमाथा आरोहण मार्ग निर्माण चौथो क्याम्प माथि
2022-05-01 15:29:52cri
Share with:

सगरमाथाको आरोहण मार्ग निर्माण सात हजार चार सय मिटर माथि पुगेको छ । ११ जना शेर्पाको टोलीले डोरी टाँगेर बाटो निर्माण चौथो क्याम्प माथि पुर्याएको सेभेन समिट ट्रेकका निर्देशक टासिल्हाक्पा शेर्पाले जानकारी दिनुभयो।

 मे १० मा चुचुरो पुग्ने लक्ष्यले बाटो निर्माणलाई तिव्रता दिइएको शेर्पाले जानकारी दिनुभयो । यो बाटो हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुने गर्छ । मे महिना भित्रमा सबै आरोहण सम्पन्न गर्ने गरी आरोहण कम्पनीहरुले आरोहीलाई तयारी अवस्थामा राखेका छन् । हाइ पचाउन पहिलो, दोस्रो क्याम्पसम्म पुगेर आधारशिविरनै फर्केर आरोहणको तयारी अवस्थामा रहेको पायोनियर एटके एक्पीडिसनका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

 यो महिना ३९ आरोहणदलबाट २४३ जना पुरुष र ७३ जना महिला सहित ३१६ जना आरोहीले सगरमाथाको आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिई सकेका छन् ।

 यसैबीच गोरखापत्र अनलाइनका अनुसार नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिई आधारशिविर पुगेका छन्। यस महिना मात्र यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

यस महिना नेपालका हिमाल आरोहणका लागि आउने आरोही मध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना त्यसपछि युकेबाट १०६ जना, भारतबाट ६० जना, फ्रान्सबाट ५६ जना रहेको विभागको तथ्याङक छ ।

 २५ वटा हिमाल आरोहण गर्न १११ आरोहणदल रहेका छन् । विभागले प्रत्येक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत समेत खटाइ सकेको जनाएको छ । आरोहीसँग समन्वय गर्दै गैरकानुनी गविविधिको अनुगमन गर्न सरकारले कार्यालय नभएको क्षेत्रमा तत्कालका लागि सम्पर्क अधिकृत खटाउने गरेको छ ।

 यस महिना सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३१६ जना, त्यसपछि ल्होत्से हिमाल आरोहणका लागि ११२ जना, आमादव्लम हिमाल आरोहणका लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि ६८ जना, नुप्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमती लिएको विभागको तथ्याङकमा उल्लेख छ । यी हिमाल आरोहण शुल्कबापत विभागले ४६ करोड ७५ लाख सात हजार ६७१ रुपियाँ राजश्व संकलन गरेको प्रवक्ता जिसिले जानकारी दिनुभयो ।