गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
2022-05-04 16:13:25CRI
Share with:

नेपालका गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिनुभएको छ। बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिनुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ। जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो।

मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चर कसरी गर्ने तयारी भएको छ, त्यसबारे जानकारी लिनुभयो। निरीक्षणमा विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई ‘अन्तर्राष्ट्रिय फ्लाइट आयो भने, काम गर्न सक्ने अवस्था भइसक्यो ?’ भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा अध्यागमनका कर्मचारीहरूले आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए।

त्यस्तै, उहाँले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिनुभयो। गृह मन्त्रालय अन्तर्गत गर्नु पर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिनुभएको थियो। गृहमन्त्री खाण बुधबार नै काठमाडौं फर्किएर दिउँसो तीन ४५ मा बुद्ध एयरको हवाइजहाजबाट प्रदेश १ स्तरीय सुरक्षा समिति बैठकमा भाग लिन विराटनगर जाने कार्यक्रम तय भएको छ।