अमेरिकाद्वारा नेपाललाई करिब ८० अर्ब अनुदान
2022-05-07 15:44:32CRI
Share with:

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गर्नु भएको कारोबार अनलाइनले लेखेको छ।

निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताउनुभयो।
अर्थ मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ। सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिनेछ।