चिनियाँ कम्पनीले निर्माण गरेको न्यादीबाट ३० मेगावाट बिजुली उत्पादन सुरु
2022-05-07 15:36:50CRI
Share with:

चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले निर्माण गरेको उत्तरी लमजुङको ङादीखोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । परीक्षण उत्पादन सुरु गरिसकेको आयोजनाले वैशाख अन्तिम साताबाट व्यावसायिक उत्पादन गर्दै छ । निर्माण सुरु भएको ५ वर्षपछि आयोजनाले बिजुली उत्पादन गरेको कान्तिपुर अनलाइनले लेखेको छ ।

आयोजनाका अनुसार करिब दुई महिनाअगावै आयोजना बिजुली उत्पादन गर्न तयार भएको थियो । वैशाख ९ को राति ८ बजेदेखि परीक्षण उत्पादन गरिरहेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई अहिले १० मेगावाट विद्युत् निःशुल्क दिइरहेको छ । वैशाख ४ देखि ट्रान्समिसन लाइनको परीक्षण प्रसारण गरेकामा सफल भएपछि आयोजनाले परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादनका क्रममा १५ दिन आयोजनाले प्राधिकरणलाई निःशुल्क बिजुली दिनेछ ।

परीक्षण उत्पादन सकिएपछि वैशाख अन्तिम साताबाट प्राधिकरणलाई बिजुली बिक्री गरिने आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाले जानकारी दिए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग सम्झौता भएको थियो । तर उक्त प्रसारण लाइन तयार नहुँदा वैकल्पिक रूपमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोडिएको न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो।

बुटवल पावर कम्पनी (बीपीसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाले खुदी सबस्टेसनको ६ किलोमिटर प्रसारण लाइन आफैं बनाएको छ । मर्स्याङ्दी गाउँपालिका–३ खुदी सबस्टेसनबाट मर्स्याङ्दी–८ लाम्पाटासम्म थप ३ किमि प्रसारण लाइन निर्माण गरेर माथिल्लो मर्स्याङ्दी ‘ए’ ले बनाएको लाम्पाटास्थित १३२ केभीको चौथो टावरमा बिजुली जोडिएको छ ।

साबिक बाहुनडाँडा र भुलभुले गाविसको सीमा (मर्स्याङ्दी गाउँपालिका ६ र ७ बीच) ङादीखोलामा निर्माणाधीन आयोजनामा बीपीसीको ९७.२२ र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानी छ । करिब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिएको आयोजनामा ब्याजसहित ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । मर्स्याङ्दी–६ नाइँचे गाउँमाथि ङादी नदीमा ड्याम बनाएर ठूलीबेंसीदेखि ताराचोक जाने सडकनजिकै ङादी नदीछेउमा निर्मित विद्युत्गृहमा पानी खसालेर बिजुली उत्पादन गरिएको छ । बिजुली उत्पादन गर्न करिब चार किमि सुरुङ र साढे ७ सय मिटरको पेटस्टक पाइप जोडिएको छ ।

साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको न्यादीको क्षमता सुरुमा २ दशमलव ८ मेगावाट निर्माण गर्ने योजना थियो । पछि बढाएर २० मेगावाट पुर्‍याइएको थियो ।