लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण पूरा
2022-05-09 21:45:43cri
Share with:

लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण पूरा भएको छ । राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्माण गरिएको हो । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको हल कोभिड–१९ का कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको कान्तिपुर अनलाइनले लेखेको छ ।

 

मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो । दोस्रो चरणमा फिनिसिङ र सुन्दरीकरणको काम सम्पन्न भएको हो । ‘दोस्रो चरणको ९९ प्रतिशत काम सम्पन्न भयो,’ निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षत्रीले भन्नुभयो, ‘बाहिरी ल्यान्डस्क्यापको एक प्रतिशत काम बाँकी छ । त्यो पनि छिट्टै सक्छौं ।’ हल जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त हलबाट सोही दिन सम्बोधन गर्ने कार्यक्रम छ ।

 

ध्यान केन्द्र १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिरबाट चाइनिज इँटाको पर्खाल लगाइएको छ । हलभित्र पस्न मुख्य ३ वटा सेन्सर ढोका छन् । त्यस्तै ५२ वटा हाते ढोका छन् । हाते ढोका ४ मिटर अग्ला र ढाइ मिटर चौडाइका छन् ।

 

५ हजार जना अटाउने छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको राखिएको छ। ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरिएको छ । साउण्ड प्रुफ छत छ। असिनापानीको आवाज आउँदैन । हलको भुइँमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ ।

 

एक जनाका लागि एक वर्गमिटर स्पेस छुट्याइएको छ । आउजाउ गर्न दुई मिटर चौडा आठवटा बाटो बनाइएको छ । बीच भागमा छुट्टै बाटो पनि छ । ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले सेतो रंग लगाइएको छ । हलको भित्रतिर माथि पहेँलो रंगको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ बत्ती जडान गरिएका छन् । वाईफाई जोन बनाइएको छ । ‘अत्याधुनिक र सुविधा सम्पन्न हल मुलुककै पहिलो हो,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भन्नुभयो, ‘अब लुम्बिनीमा ठूलठूला कार्यक्रम गर्न सकिने भएको छ ।’

 

०७४ सालको बुद्धजयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रम स्थल भत्काएपछि ५ हजार क्षमताको ध्यान केन्द्र लुम्बिनीमा बनाउने घोषणा गरिएको थियो भने ०७५ को बुद्ध पूर्णिमाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गर्नुभएको थियो।

लुम्बिनी नेपालमा सबैभन्दा बढी विदेशी र स्वदेशी पर्यटकले भ्रमण गर्ने पर्यटकीय गन्तव्य हो । बर्सेनि १६ लाखभन्दा बढी स्वदेशी र विदेशीले लुम्बिनीको भ्रमण गर्ने गरेका छन् ।