सगरमाथा आरोही अनुकूल मौसमको पर्खाइमा
2022-05-10 17:49:15cri
Share with:

सगरमाथा आरोहणको लागि अनुमति लिएका आरोहीहरू आरोहण अभ्यास पूरा गरेर सगरमाथाको शिखर टेक्न अनुकूल मौसमको पर्खाइमा छन् । सबै टोली बेसक्याम्पमा अनुकूल मौसमको पर्खाइमा रहेको पर्यटन विभागका महानिर्देशक तारनाथ अधिकारीले बताउनुभयो।

उहाँका अनुसार विभागबाट आरोहण अनुमति लिएका आरोही टोली सबै बेसक्याम्प पुगेका छन्। धेरैजसो आरोहण टोलीले वैशाख २८ देखि जेठ ४ गतेसम्ममा आरोहण गर्ने गरी योजना बनाएर केही आरोहण अभ्यास गरिरहेको र केही अभ्यास पूरा गरेर बसेको विभागले जनाएको छ ।

जारी सिजनमा कामीरिता शेर्पासहितको ११ जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँग्ने) गरी बाटो बनाउँदै शनिबार यस वर्षको पहिलो आरोहण गरेको थियो । आरोही शेर्पासहितको ११ जना शेर्पाको टोली सगरमाथाको चुचुरोमा पुगेको हो । शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेपछि यसअघि २०७८ वैशाख २४ गते २५ औं पटक सफल आरोहण गरेर सबैभन्दा बढी पटक सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका गोरखापत्र अनलाइनले जनाएको छ।

शेर्पा सहितको टोली मौसम अनुकूल नहुँदा बेसक्याम्प ओर्लिन भने नसकेको विभागले जनाएको छ । हाल अनुकूल मौसमको पर्खाइमा रहेका करिब ३ सय आरोही सगरमाथाको बेसक्याम्पमा रहेका छन्। बेसक्याम्पमा रहेका सर्भे विभागका उपसचिव खिमलाल गौतमका अनुसार सगरमाथा बेसक्याम्पमा आरोहण टोली, आरोहण दलका सहयोगी सबै गरेर करिब १५ सयको हाराहारीमा रहेका छन् । सोमबार आरोहण अभ्यासका क्रममा तेश्रो बेसक्याम्पमा पुग्न नसकी केही टोली फिर्ता भएको गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “माथि अत्यधिक हावाको बेग चलेका कारण आरोहण टोली क्याम्प ३ मा जान नसकेर क्याम्प २ मा फिर्ता भएका हुन्।” केही आरोही आरोहण अनुमति लिनको लागि आइरहेको भए पनि यसअघि अनुमति लिएका आरोही सबै बेसक्याम्प पुगेको विभागको भनाइ छ । आरोहण टोलीका सदस्यले आरोहण अभ्यास पूरा गरेर आरोहणको क्रममा रहेको विभागका निर्देशक मोहनबहादुर जिसीले बताउनुभयो। धेरै आरोही बेसक्याम्पमा रहेको र केही आरोही क्याम्प १ र २ मा रहेको उहाँको भनाइ छ ।

विभागका अनुसार ८ मेसम्ममा ५८ देशका ३ सय १७ जना (७३ महिला र २४४ पुरुष)ले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । जसमा अमेरिकी नागरिक ६५, बेलायती ३४, भारतीय २३, नेपाली २१, फ्रन्सेली १३, क्यानेडियन १७ जना छन् । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यावस्था रहेको विभागले जनाएको छ ।

यसैबीच समुन्द्री आँधी आसामीको प्रभाव नेपालमा पनि पर्ने र हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताउनुभयो। यसक्रममा सगरमाथा आरोहणका क्रममा गएका रुसी नागरिकको मृत्यु भएको छ । यसअघि सगरमाथामा आरोहण दलका सहयोगी निङ्मा तेञ्जिङ शेर्पाको मृत्यु भएको थियो ।