अस्ट्रेलियाली लगानीका लागि सहजीकरण गरिदिन नेपाली व्यवसायीको आग्रह
2022-05-10 17:51:05cri
Share with:

नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका  लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ। नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आउनेगरी सहजीकरण गर्न परिसंघले आग्रह गरेको हो ।

 

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो। ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उहाँले भन्नुभयो। उहाँले नेपाल र अस्ट्रेलियाबीचको मैत्रिपूर्ण सम्बन्धलाई झनै बलियो बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताउनुभयो।

 

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्य विस्तारका लागि आफूले पहल गर्ने बताउनुभयो। उहाँले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गर्नुभयो। कान्तिपुर।