ठूलो संख्यामा आरोही सगरमाथा शिखरतिर
2022-05-11 17:25:21cri
Share with:

अनुकूल मौसम कुरेर बसेका सयौं आरोही आरोहणका लागि सर्वोच्च शिखर सगरमाथातर्फ लागेका छन्। सगरमाथा र ल्होत्से आरोहणका लागि सयौंको संख्यामा आरोहीहरु उकालो लागेका हुन्। बिहीबार सगरमाथा आरोहण गर्ने र ल्होत्सेको शिखरमा रोप फिक्सिङ (डोरी टाङ्ग्ने) लक्ष्य आरोहीले राखेका छन्। धेरै आरोही उकालो लागेपछि आधारशिविर नै सुनसान भएको कान्तिपुर अनलाइनले लेखेको छ।‘बिहीबार सगरमाथा र ल्होत्से दुवै आरोहण गर्ने उद्देश्यले आरोही उकालो लाग्नुभएको छ,’ आधारशिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमले भन्नुभयो। सगरमाथा र ल्होत्से जाने रुट करिब चौथो शिविरसम्म एउटै हो।

 

सगरमाथा आरोहणका लागि यसवर्ष ४० वटा आरोहण दलका ३ सय १७ आरोहीले अनुमति लिएका छन्। त्यसमध्ये एक रसियन आरोहीको केही दिनअघि मृत्यु भएको छ। अनुमति लिने आरोहीमध्ये ७३ जना महिला र २ सय ४४ जना पुरुष छन्। त्यसमध्ये नेपाली आरोही २१ जना छन्। ६ महिला र १५ पुरुष नेपाली आरोहीले अनुमति लिएको पर्यटन विभाग पर्वतारोहण शाखाका शाखा अधिकृत भिष्मराज भट्टराईले बताउनुभयो। ल्होत्सेका लागि १३ वटा आरोहण दलका १ सय २७ जनाले आरोहण अनुमति लिएका छन्। ९८ पुरुष र २९ महिला छन्। यसवर्षको वसन्त ऋतुमा नेपालको २७ हिमालका लागि १ सय १८ आरोहण दलका ९ सय ५३ आरोहीले अनुमति लिएका छन्। २७ वटा हिमालबाट ४७ करोड ४६ लाख ६६ हजार ६ सय ११ रुपैयाँ राजस्व संकलन गरेको छ। गतवर्ष कोरोनाको कारण प्रभावित हिमाल आरोहण यसवर्ष केही सकारात्मक देखिएको छ।