७ अफ्रिकी–अमेरिकीले सगरमाथा आरोहण गरे
2022-05-12 18:52:04cri
Share with:

रंगभेदविरुद्धको आवाज बुलन्द बनाउने उद्देश्यसहित अश्वेत अल्पसंख्यक समुदायका ७ जना अफ्रिकी–अमेरिकीले बिहीबार विश्वकै अग्लो शिखर सगरमाथामा ‘सामूहिक अश्वेत अल्पसंख्यक आरोहणको कीर्तिमान’ कायम गरेका छन् ।

 

विश्वभर अफ्रिकी–अमेरिकी र अन्य समुदायले भोग्नु परेको रंगभेदलगायतका विभेदविरुद्ध चेतना जगाउन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका फिलिप हेन्डरसनको नेतृत्वमा अश्वेत समुदायका १५ जना २ महिनाअघि नेपाल आएका थिए। उनीहरुमध्ये १० जना सगरमाथा आरोहणमा गएका थिए।

 

‘राती साढे १ बजेदेखि बिहान साढे ७ बजेसम्म अश्वेत समूहका ७ जनाले सगरमाथा आरोहण गरेका छन,’ यो आरोहण दलको व्यवस्थापकीय जिम्मा लिएको सांग्रिला नेपाल ट्रेक प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले कान्तिपुरसँग भने, ‘तीन जनाले आरोहण सकेनन् । उनीहरुसहित ८ जना शेर्पाले सगरमाथा आरोहण गरेका छन् ।’

 

फिलिपको नेतृत्वमा रहेको फूल सर्कल नाम दिइएको टोलीमा केन्याका जेम्स कागाम्नी, अन्य ८ जना अमेरिकी नागरिक तथा डकुमेन्ट्री बनाउने सदस्यसहित १५ जना छन्। यो आरोहणको डकुमेन्ट्री पनि निर्माण हुँदैछ। टोली नेता फिलिपले सन् २०१२ मा सगरमाथा आरोहणमा गएका थिए। तर, उनी स्वास्थ्य समस्यका कारण ७ हजार मिटर उचाइमा रहेको तेस्रो शिविरबाटै फर्किए। कान्तिपुर।