चिनियाँ मुद्रामा तिब्बतबाट नेपालमा भित्रियो पहिलो सीमापार लगानी
2022-05-13 17:00:40cri
Share with:

चिनियाँ केन्द्रीय बैंकको तिब्बतस्थित क्षेत्रीय शाखाले साढे सात लाख आरएमबी अर्थात् चिनियाँ युआन लगानी सफलतापूर्वक नेपाल पठाएको छ। यो नेपालमा चिनियाँ मुद्रामा आएको पहिलो सीमापार प्रत्यक्ष लगानी व्यवसाय हो। योसँगै तिब्बत क्षेत्रबाट नेपालमा चिनियाँ मुद्रामा हुने व्यवसायको अभावपूर्ति भएको छ। यतिमात्रै नभई नेपालमा चिनियाँ मुद्राको वास्तविक अवतरण भएको छ।

हाल यो व्यवसाय टिबेट कुन्ह्वा एग्रिकल्चरल डेभलपमेन्ट कम्पनी लिमिटेडले हेरिरहेको छ। यो कम्पनी रासायनिक मल र अर्गानिक (प्रांगारिक) मलजस्ता कृषिजन्य सामग्रीको बिक्री संस्था हो भने कृषिसम्बन्धी प्रविधिको प्रवर्द्धन र विकासमा समेत संलग्न रहँदै आएको छ। बेल्ट एन्ड रोड इनिसिएटिभसँग जोडिएका विभिन्न देशहरुमा आर्थिक तथा वित्तीय सहकार्यको तीव्र विकाससँगै कम्पनीले नेपालमा सन् २०१९ देखि अर्गानिक मल उत्पादन बेसमा लगानीको तयारी गरिरहेको छ।

सुरुमा ३० लाख युआन लगानी गरेर कम्पनीले नेपालकै घरेलु कच्चापदार्थ (पशुपन्छीका मलखाद र बालीबाट निस्केका नलपरालजस्ता) प्रयोग गरी अर्गानिक मलको प्रक्रिया, उत्पादन र बिक्री उद्योग स्थापना गर्ने योजना बनाएको छ। कम्पनीको यस्तो योजनालाई सघाउन पिपल्स बैंक अफ चाइनाको ल्हासा सेन्ट्रल ब्रान्चले सक्रिय र निर्देशात्मक रुपमा पिपल्स बैंक अफ चाइना टिबेट ब्रान्चलाई सेवालाई निरन्तरता दिन, सीमापार आरएमबी (युआन) व्यवसाय प्रवर्द्धनलाई बलियो बनाउन र उद्यम परियोजनालाई सघाएर युआनको सीमापार सेवा प्रयोग र बोर्डर सेटलमेन्ट गर्न भनेको छ।

सन् २०२२ को सुरुमा टिबेट कुन्ह्वा एग्रिकल्चरल डेभलपमेन्ट कम्पनीले पहिलोपटक युआनको सीमापार प्रत्यक्ष लगानी व्यवसायको व्यवस्थापन गरेको हो। सो क्रममा प्रारम्भिक तयारी प्रक्रियामा कम्पनीले धेरै चुनौती झेलेको थियो। उद्यम व्यवसायले कठिनाइ झेलेपछि बैंक अफ चाइना टिबेट ब्रान्चले वित्तीय सेवालाई सहजीकरण गर्न र यससम्बन्धी समस्या समाधान गर्न सुरु गरेको थियो।

सोसँगै गत अप्रिल १३ मा कम्पनीले नेपालमा सफल रुपमा आरएमबीको सीमापार प्रत्यक्ष लगानी पठाएको हो।

ल्हासा सेन्ट्रल ब्रान्च अफ द पिपल्स बैंक अफ चाइनाले यसलाई निरन्तरता दिएर वास्तविक अर्थतन्त्रलाई सघाउन ध्यान केन्द्रित गर्ने जनाएको छ। यसबाहेक बैंकले बैंकिङ संस्थाहरुलाई कानुनअनुसार नियमित गरी प्रभावकारी रुपमा धेरै प्रकारका सीमापार आरएमबी नीतिहरु कार्यान्वयनमा ल्याउने जनाएको छ। बैंकले नीति कार्यान्वयनसँगै यो क्षेत्रको वैदेशिक व्यापार उद्यमका लागि अझै धेरै व्यावसायिक र सुविधाजनक सीमापार कारोबारलाई निरन्तरता दिने बताएको छ।

यो सँगै तिब्बत स्वशासित क्षेत्र र बीआरआईसँग जोडिने देशहरुबीचको क्षेत्रमा चिनियाँ मुद्राको प्रवर्द्धन जारी राख्ने र तिब्बतको वैदेशिक अर्थतन्त्रको उच्चस्तरीय विकासका लागि बलियो सहयोगलाई जारी राखिने भएको चाइना न्युज नेटवर्कलाई उद्धृत गर्दै नेपालखबर अनलाइनले लेखेको छ।