हिमालय एयरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामग्री सहयोग
2022-05-13 17:01:16cri
Share with:

वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले लगातार छैठौँ वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरको शैक्षिक सामग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ । नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै कम्पनीले सहयोग गर्दै आएको थियो । सन् २०१७ देखि हिमालय एयरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैर–सरकारी, गैर–नाफामूलक र सामाजिक संस्था हो । विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामग्री, खाजा/नास्ता, खाद्यान्नहरूका साथै कोभिड–१९ विरुद्धका सामग्रीहरुको आपूर्तिमार्फत हिमालय एयरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ ।

 

सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तीकरण कार्यक्रमहरूमार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ । हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बाल–बालिकाको रेखदेख गरिरहेको छ । यी बाल–बालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ । आजसम्म यी बाल–बालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत भएका छन । जसमध्ये कतिपय त थप अध्ययनका लागि विदेश समेत गएका छन् । बाल–बालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदिबारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदानप्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एयरलाइन्सका जहाजका अनुभवी चालकदलले बाल–बालिकासँग अन्तर्क्रिया गरेका थिए ।

 

उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरुबारे जानकारी गराउने थियो । कार्यक्रममा बालबालिकाहरुले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए ।

 

शैक्षिक सामग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिती बक्स, कलमलगायत स्टेसनरी सामग्रीहरु समेटिएका थिए । एयरलाइन्सको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालसँगको कम्पनीको छ वर्ष लामो सहकार्यले कम्पनीको उत्तरदायित्व पुष्टि गरेको बताउनुभयो।

 

यो विशेष सहकार्य हरेक वर्ष अझ बलियो बन्दै गएको उहाँको भनाइ छ । सहयोग सामग्रीहरुको हस्तान्तरण काठमाडौंमा एक विशेष कार्यक्रमका बीच वैशाख २७ गते सम्पन्न भएको हो । सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष मणि जोशीले आवश्यक शैक्षिक सामग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गरिन् । हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू निकै जानकारीमूलक भएको र तिनले बाल–बालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको उहाँले बताउनुभयो। नेपालखबर।