मोदीको लुम्बिनी भ्रमणले ‘पर्यटन प्रवर्द्धन’
2022-05-14 17:30:23cri
Share with:

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने यहाँका व्यवसायी र अन्य सरोकारवालाले अपेक्षा गरेका छन् । मोदीको भ्रमणपछि भारतीय पर्यटकको आवागमन बढ्ने सक्ने भएकाले उनीहरूलाई जतिसक्दो बढी समय लुम्बिनीमा अड्याउने उपाय अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

 

भारतका प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर जेठ २ मा केही घण्टाका लागि लुम्बिनी आउने कार्यक्रम छ। पर्यटन व्यवसायी किरणचन्द्र पौडेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनी र यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ। ‘शक्तिशाली मुलुकका प्रधानमन्त्रीले बुद्ध जन्मस्थल लुम्बिनीमा पूजा गर्दा प्रचारप्रसार बढ्छ,’ उहाँले भन्नुभयो, ‘त्यसले नेपाललाई फाइदा पुग्छ ।’

 

भारतीय प्रधानमन्त्री मोदी भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउँदा राम्रो हुने पौडेलको भनाइ छ । ‘कमसेकम हाम्रो विमानस्थल निरीक्षण गरिदिए हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीको पर्यटन विकासमा विमानस्थलको महत्त्वपूर्ण भूमिका छ ।’ बौद्ध परिपथ कार्यान्वयनलाई सफल पार्न भारतीय ट्राभल एजेन्सीको हात रहने पौडेल बताउनुहुन्छ। पर्यटन उद्यमी हेमबहादुर विष्टले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण बौद्ध धर्मका माध्यमबाट नेपाल–भारत सम्बन्ध प्रगाढ र समृद्ध बनाउने अवसर रहेको बताउनुभयो। ‘बुद्ध धर्मका लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर गरी चारधाम छन् । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण लुम्बिनी हो,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीको भ्रमण नगर्दासम्म पुण्य सञ्चय नहुने विश्वास भएकाले भारतले बनाएको बुद्ध सर्किटसँग लुम्बिनीलाई जोड्न सरकारले आग्रह गर्नुपर्छ ।’

भारतमा सुरु भइसकेको सर्किट रेल यात्रा नेपाली सीमासम्म ल्याउन पहल थाल्न भारतीय प्रधानमन्त्रीको यात्राले बल पुर्‍याउनुपर्ने विष्टले बताउनुभयो। भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि भारतीय पर्यटन व्यवसायीको आइटेनरीमा लुम्बिनी थपिने लुम्बिनी होटल संघ वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माको विश्वास छ ।

कान्तिपुर अनलाइनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि स्थानीय हौंसिएका छन्। लुम्बिनी विकास कोषले स्वागत तयारीलाई तीव्रता दिएको जनाएको छ । कोषले भारतीय प्रधानमन्त्री सहभागी हुने कार्यक्रमस्थल रंगरोगन र फूलले सिगार्ने काम गरिरहेको छ । लुम्बिनीमा चारवटा हेलिप्याड निर्माण सकिएको छ । बुद्धजयन्ती समारोह आयोजना गरिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र सजाउने काम पूरा हुन लागेको छ । लुम्बिनी परिसरमा सरसफाइ, रंगरोगन, मर्मतका काम भइरहेका छन् । भारतीय प्रधानमन्त्री र पाहुना बस्ने पाँचतारे होटल पवन प्यालेस सिगार्ने काम भइरहेको छ । लुम्बिनीका विभिन्न स्थानमा स्वागत द्वार निर्माण गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले सम्बोधन गर्ने बुद्धजयन्ती समारोहमा दुई हजार जना सहभागी हुने कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानीन राईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त समारोहमा कूटनीतिक नियोग, दातृ निकायका प्रतिनिधि, नेपाल सरकारका सचिव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी अधिकारी, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, निजी क्षेत्र र आसपासका स्थानीय सहभागी हुनेछन् ।

 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते बिहान ११ बजे हेलिकोप्टरबाट लुम्बिनी आइपुग्ने जानकारी गराइएको छ । मोदी यहाँ ओर्लेलगत्तै विश्व सम्पदा सूचीकृत मायादेवी मन्दिर परिसरमा कोषका उपाध्यक्ष र परराष्ट्रमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मायादेवी मन्दिरमा आमन्त्रित भन्ते/गुरुमाले स्वागत गर्नेछन् । त्यसलगत्तै प्रधानमन्त्री मोदीले मायादेवीमा पूजा गर्ने कार्यक्रम छ ।

 

पूजा सकिएपछि प्रधानमन्त्री मोदीले मायादेवी मन्दिर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । बोधीवृक्षमा जल सिंचन, ‘भिजिटर बुक’ मा हस्ताक्षर, अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) विहार शिलान्यास लगायतका कार्यक्रम तय गरिएको छ।

 

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण हुने दिन जेठ २ मा बिहान ९ बजेदेखि कम्तीमा तीन घण्टा सर्वसाधारणलाई मायादेवी मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तयारीका क्रममा बुधबार भारतीय वायु सेनाको विमानमार्फत विशेष सुरक्षाकर्मी र सवारीमा प्रयोग हुने गाडी ल्याइएको छ । गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने भारतीय वायु सेनाको विमान पहिलो हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बुधबार बिहान साढे १० बजे भारतीय वायु सेनाको विमान अवतरण गरेको बताउनुभयो।