गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुँदै, समृद्धि ल्याउने अपेक्षा, सरकारी विमानले प्रथम व्यावसायिक उडान गर्दै
2022-05-15 16:11:38cri
Share with:

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट पहिलो व्यावसायिक उडान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्ने कार्यक्रममा निगमले काठमाडौंबाट भैरहवाका लागि आफ्नो न्यारोबडी विमानबाट पहिलो व्यावसायिक उडान गर्न लागेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिनुभयो। उक्त उडानका लागि निगमले बिहीबार साँझदेखि टिकट बिक्री खुला गरिसकेको छ। कान्तिपुर अनलाइनका अनुसार यसअघि जेठ १४ मा निगमकै वाइडबडी विमानले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो । सन् १९५८ जुलाई ४ मा पहिलो पटक उडान सुरु भएको भैरहवाको गौतम बुद्ध आन्तरिक विमानस्थललाई करिब साढे ७ अर्ब रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ । सात वर्ष लगाएर यसको निर्माण हालै सकिएका थियो ।

 

यसैबीच मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यो लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा गरिएको नागरिकन्यूज डटकमले लेखेको छ।

विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले परीक्षण उडान सफल भएकाले यो विमानस्थल अब व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडानका लागि खुला भएको बताउनुभयो। यो विमानस्थल लुम्बिनी प्रदेशका साथै सिंगो मुलुकको विकासमा कोसेढुंगा हुन सक्ने दाहालको भनाइ छ।

यसअघि गत फागुन ६ मा एरो थाईको क्यालीब्रेसन उडान सफल भएको थियो। भोली (जेठ २) मा कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति लिइसकेको छ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरेको थियो। दाहालका अनुसार नेपाल वायुसेवा निगम, श्रीलंकन एयर, फ्लाइ दुबई, थाइ स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत ११ मुलुकका कम्पनीहरूले उडान भर्न चासो देखाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा यो विमानस्थल सञ्चालन हुनेछ। यहाँ न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्न सक्ने छन्।

लामो प्रतीक्षापछि यो विमानस्थल सञ्चालनमा आउँदा सबैतिर उत्साह छाएको भैरहवाका पर्यटन व्यवसायी विष्णु शर्माले बताउनुभयो।

यो विमानस्थलले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने विश्वास यसक्षेत्रका उद्योगी व्यवसायीले पनि राखेका छन्। सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले हिमाली, पहाडी र तराईका कृषिजन्य, जडीबुटीजन्य, गार्मेन्ट तथा हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावना औंल्याउनुभयो।

यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। त्रिभुवन विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा विकल्पको रूपमा जहाज अवतरण गर्न सक्नेछन्। यो विमानस्थल सञ्चालनमा आएपछि आपतकालीन अवस्थामा जहाज भारत वा बगंलादेश डाइर्भट गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।