न्यु बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि स्वीकृति
2022-05-17 15:36:42cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले न्यु बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउने कम्पनीमा स्वामित्व स्थापित गर्ने अनुमति पाएको छ। यो प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा लगानी गर्न भारत सरकारले प्राधिकरणलाई स्वीकृति दिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपाल र भारतबीच विद्युत् व्यापार क्षमता वृद्धिका लागि बनाउन लागिएको न्यु बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लि.को ५०÷५० प्रतिशत सेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना गर्न लागिएको हो। 

नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित न्यु बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १२० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारतमा पर्छ। यो स्वीकृति पाएसँगै अब नेपाल विद्युत् प्राधिकरणले सो संयुक्त कम्पनीको ५० प्रतिशत इक्विटीले हुन आउने ४६ करोड भारतीय रुपियाँ (७३ करोड ६० लाख रुपियाँ) लगानी गर्न‘पर्छ। सो कम्पनीमा भारतको पावर ग्रिडले पनि त्यति नै रकम लगानी गर्नेछ। करिब चार अर्ब ६२ करोड भारतीय रुपियाँ (सात अर्ब ३९ करोड रुपियाँ) अनुमति लागत रहेको यो आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी लगानी गर्ने तय भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताउनुभयो। “कम्पनी स्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन्। अब कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढ्छ,” उहाँले भन्नुभयो। २०७६ असोज २७–२८ मा सम्पन्न नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको सातौँ बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुङ्गो लगाएको थियो। 

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटका लागि टेन्डर डकुमेन्ट बनाउने काम भइरहेको छ। तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाएका छौँ।” प्राधिकरण र पावर ग्रिडबीच भदौ २०७८ मा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो।

  नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो। 

करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो। हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनभन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झन्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्नेछ।