नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै विदेश आउजाउमा सहज
2022-05-17 15:27:25cri
Share with:

नेपालबाट विदेश आउजाउको लागि अब काठमाडौं आउनैपर्ने बाध्यता हटेको छ। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विदेश आउजाउ सबै भैरहवाबाट हुने भएको हो। नेपालको अध्यागमन विभागले काठमाडौं त्रिभुवन विमानस्थलपछि भैरहवामा अन्तर्राष्ट्रिय भिसा जारी हुने बताएको नेपाल खबर अनलाइनले लेखेको छ।

अहिले त्रिभुवन विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रिय यात्रु आउन सक्छन्’, अध्यागमन विभागका निर्देशक अन्जान न्यौपानेले भन्नुभयो, ‘अब विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय भिसा त्रिभुवनपछि भैरहवामा दिन थालिएको छ।

अहिले रोडबाट आउँदा बोर्डरबाट भिसा दिँदै आएको थियो। हालसम्म भिसा एक्सटेन्सन गर्न पोखरा र काठमाडौँ जानुपर्ने अवस्था छ भने मेडिकल चेकअपका लागि केन्द्रमै भर पर्नुपर्ने बाध्यता छ। अध्यागमन विभागअन्तर्गत १३ वटा कार्यालय सञ्चालनमा छन्। उत्तरतर्फ रसुवागढी कार्यालय र कोदारी कार्यालय रहेको छ। 

त्यसैगरी पशुपतिनगर, काँकरभिट्टा, विराटनगर, वीरगन्ज, बेलहिया, जमुनाह, मोहना र गड्डाचौकीमा अध्यागमन कार्यालय छन्। काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र पोखरामा समेत अध्यागमन कार्यालय छन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी काठमाडौंको चाप थेग्न भैरहवा विमानस्थल सहयोगी हुने बताउनुहुन्छ। ‘अहिले काठमाडौंको एयर ट्राफिकले धान्नसक्ने अवस्थामा छैन’, अधिकारीले थप्नुभयो, ‘अब काठमाडौंमा हुने चाप भैरहवाले घटाउँछ। विदेश जाने यात्रुलाई डिले हुने समस्या समाधान हुन्छ।

भैरहवा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अनुप केसीले नेपालमा पहिलोपटक ४३ जना नेपाल भित्रिएको जानकारी दिनुभयो। क्याबिन क्रुबाहेक ४३ जना अन्तर्राष्ट्रिय यात्रु पहिलोपटक भैरहवा विमानस्थलबाट प्रवेश पाएका छन्’, केसीले भन्नुभयो, ‘नेपालतर्फबाट जाने ११८ जना यात्रु रहेका छन्।

योसँगै अब विदेशबाट आउनेले भैरहवा इन्ट्री राखेर भिसा लगाएर आउन सक्नेछन्। अब भिसाकै लागि काठमाडौं जानुपर्ने अवस्था नआउने अध्यागमन कार्यालयले जनाएको छ। 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल चलाएपछि अब हरेक कामको लागि काठमाडौं जानुपर्दैन’, केसीले थप्नुभयो, ‘भिजिट भिसा होस् वा पर्यटन सम्पूर्ण काम भैरहवाबाटै हुन्छ।

अध्यागमन कार्यालयले काठमाडौंको विमानस्थलबाट पाउने सबै सुविधा भैरहवा विमानस्थलमा उपलब्ध रहेको जनाएको छ। भैरहवामा कुल पूरा दरबन्दी ४० जनाको छ। अहिले सबै कर्मचारी पूर्ति भएको छैन। ‘अहिले जजिराले हप्ताको ३ वटा उडान मात्रै गर्ने हुँदा धेरै कर्मचारी आवश्यक हुँदैन’, उहाँले भन्नुभयो, ‘उडान संख्या बढ्दै जाँदा कर्मचारी थप हुँदै जान्छन्।

जजिरा एयरवेजले हरेक हप्ता सोमबार, बुधबार र बिहीबार नियमित उडान गर्नेछ। कम्पनीले काठमाडौंमा भइरहेका उडानलाई नियमित राखी भैरहवामा उडान थप गरेको प्राधिकरणले जनाएको छ। 

भैरहवामा सोमबार, बुधबार र शुक्रबार उडान गर्ने अनुमति पाएको छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘काठमाडौंको उडान कटौती गरेर भैरहवा थपेको होइन। भैरहवाको ३ उडान थपेको हो।

नेपालमा हाल एयर अरेबिया, एयर इन्डिया, एयर चाइना, विमान बंगलादेश, फ्लाई दुवई, जजिरा एयरवेज, कतार एयरवेज, सलाम एयर, टर्किस एयरलाइन्सले दैनिक काठमाडौं उडान भर्दै आएका छन्। 

प्राधिकरणले नेपाली एयरलाइन्सबाहेक भारत, श्रीलंका, थाइल्यान्ड, चीन र नेपाली बढी कामदार रहेका खाडी देशका एयरलाइन्सले भैरहवाबाट उडान नियमित उडान भर्ने अनुमान गरेको छ। काठमाडौंमा नियमित उडान गरिरहेका एयरलाइन्स कम्पनीहरुले भैरहवा पनि उडान गर्ने बताएका छन्’, गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले भन्नुभयो, ‘दशैँसम्म करिब १ दर्जन कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विश्वास छ।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति अनलाइनबाटै हुँदा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ। पासपोर्ट जिल्लामै १ हप्ता र १५ दिनमा पाइन्छ। विमानस्थलका महाप्रबन्धक दाहालले भैरहवाबाट विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने नेपाली, विदेशी पर्यटक, भीभीआईपीका अध्यागमनमा चेकइन कोठा छुट्याइएको बताउनुभयो। 

भैरहवा विमानस्थलमा अध्यागमनको लागि प्रत्येक क्षेत्रको लागि २ वटा चेकइन पोइन्ट छुटाइएको छ’, दाहालले भन्नुभयो, ‘८ वटा कोठामा चेकइन हुन्छ। त्यसपछि सुरक्षाको चेकजाँच हुने दाहाल बताउनुहुन्छ।

भैरहवाबाट वैदेशिक रोजगारीको लागि कतार, साउदी अरेबिया, यूएई, ओमान, मलेसिया जान होस् वा अध्ययनको लागि अष्ट्रेलिया, अमेरिका, बेलायत भैरहवाबाटै प्रवेश पाउन सक्छन्। ‘भैरहवाबाट उडान हुने एयरलाइन्सले ट्रान्जिट गरी सम्बन्धित देशमा लैजान्छन्’, दाहालले भन्नुभयो। अहिले पनि काठमाडौंबाट पनि धेरै देशमा सिधा उडान हुँदैनन्। दोहा, सिंगापुर, इस्टानबुल, दुवईमा ट्रान्जिट भएर युरोप तथा अमेरिका जाने गरेका छन्।