धादिङ–नागढुंगा सुरुङमार्गको प्रगति ३५ प्रतिशत
2022-05-19 15:36:45cri
Share with:

आगामी २०८० वैशाखमा काम सम्पन्न गर्ने लक्ष्यका साथ नेपालको संघीय राजधानी प्रवेश गर्ने सुरुङमार्गको काम धमाधम चलिरहेको छ। शिलान्यासको १४ महिनापछि काम सुरु भएको सुरुङमार्गमा निर्माणमा कोरोना महामारीले बाधा पुर्याए पनि अहिले भने द्रुत गतिमा काम भइरहेको कारोबार अनलाइनले लेखेको छ। हाल सुरुङमार्ग बनाउने काममा सबै किसिमका गरी करिब ६ सय जनशक्ति परिचालित रहेको आयोजनाले जनाएको छ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका र धादिङ जिल्लाको सिमानामा निर्माणधिन सुरुङमार्ग दुई लेनको हुनेछ। यसको लम्बाइ २.६८ किलोमिटर हुनेछ भने सुरुङसहित सडकको लम्बाइ ३.५ किलोमिटर हसनछ। सिस्नेखोला–नागढुंगा सुरुङमार्ग नाम दिइएको यो आयोजनामा जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब लगानी हुनेछ। जापानको हाम्जा एण्दो कर्पोरेसनले सुरुङमार्ग बनाउने जिम्मा लिएर काम गरिरहेको छ।

निर्माण सम्पन्न हुन १२ महिना समय बाँकी हुँदासम्म आयोजनाको काम भौतिक प्रगति ३५.५० प्रतिशत र वित्तीय प्रगति (खर्च) ४५.५० प्रतिशत रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नरेशमान शाक्यले बताउनुभयो। उहाँका अनुसार अण्डर पास तीन वटामध्ये दुईको काम सम्पन्न भएको छ। फ्लाइओभार एउटा निर्माण गर्न बाँकी छ। बक्स कल्भर्ल्ट चारवटा, ओभर पास एउटा, ब्रिज तीन वटा निर्माण सम्पन्न भएको छ।

सुरुङ मार्गभित्रको मुख्य सुरुङ मार्ग दुई हजार ६ सय ८८ मिटर र इमर्जेन्सी मार्ग दुई हजार पाँच सय ५७ मिटर खन्ने काम पूरा भएको छ। यसैगरी वाकिङ अडिट (सडक) एक सय २६ मिटर र क्रस पासेज एक सय २८ मिटर पूरा भएको आयोजना प्रमुख शाक्यले बताउनुभयो। तोकिएको काम तोकिएको समयमा सम्पन्न गर्न सुरुङ मार्ग बनाउने कार्यमा जापानी २० जना उच्च तहका इन्जिनियर, नेपाली कन्सल्टेन्ट इन्जिनियर २० जना र सडक विभागका इन्जिनियरसहित सबै किसिमका जनशक्ति गरी ६ सय जनाको हाराहारीमा कार्यरत रहेको कन्सल्टेन्ट इन्जिनियर अच्युत भट्टले बताउनुभयो।

सुरुङमार्ग पूरा भएपछि नागढुंगा उकालोमा ट्राफिक जाम अन्त्य हुने अपेक्षा राखिएको छ।