नेपालले व्यापारघाटा घटाउन १५ सय मेगावाट बिजुली निर्यात गर्नुपर्ने सुझाव
2022-05-20 15:45:02cri
Share with:

बढ्दो व्यापारघाटा कम गर्न नेपालले १५ सय मेगावाट बिजुली निर्यात गर्नुपर्ने तथ्य सांसद विनोद चौधरीले प्रस्तुत गर्नु भएको छ। उद्योगीसमेत रहनु भएका नेपाली कांग्रेसका सांसद चौधरीले बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै बढ्दो व्यापारघाटा प्रमुख समस्या रहेको भन्दै यसलाई सन्तुलनमा ल्याउन जलविद्युत निर्यात नै उपयुक्त विकल्प रहेको सुझाव दिनु भएको कारोबार अनलाइनले लेखेको छ। हामीले १५ सय मेगावाट बिजुली निर्यात गर्न सक्यौँ भने हाम्रो व्यापारघाटा सन्तुलनमा ल्याउन सकिन्छ,” चौधरीले भन्नुभयो।

तरलता संकट र बढ्दो ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विशेष ध्यान दिन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले सरकारको ढुकुटीमा थुप्रिएको रकमलाई बजारमा ल्याउनुपर्नेमा जोड दिनुभयो। आर्थिक वर्षको १० महिनासम्ममा पनि सरकारले पुँजीगत बजेटको ३१ प्रतिशत मात्रै खर्च गरेको भन्दै उहाँले हाम्रो विकासको संरचनागत प्रणालीमै समस्या रहेका बताउनुभयो। यसमा सुधार नगरेसम्म हामीले विकासको अनुभूति नै गर्न नपाउने भयौं। विकास बजेट कार्यान्वयन गरे पनि हुने र नगरे पनि हुने अहिलेको प्रणालीमा सुधार ल्याउन खास व्यवस्था मिलाउनुपर्छ, अन्यथा आगामी वर्षमा पनि विकासको यही दारुण कथा दोहोरिइरहनेछ।
वैदेशिक मुद्राको सञ्चितीमा परेको चाप र रोजगारी सिर्जनाजस्ता विषयको समाधान आन्तरिक र बाह्य लगानी वृद्धि गर्नु हो भन्दै नेता चौधरीले सरकारको ध्यान वैदेशिक तथा आन्तरिक लगानीकर्ताका लागि लगानीको उत्साहजनक वातावरण तयार गर्ने र उनीहरुलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो। नेपाली अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन र जलविद्युतको विकासमा गम्भिर बन्नुपर्ने आवश्यकता रहेको दोहो-याउँदै चौधरीले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै गर्दा नेपालको ध्यान भारत र चीनबाट ५० लाख पर्यटक ल्याउने हुनुपर्ने पनि बताउनुभयो।
नेपाली अर्थतन्त्रलाई श्रीलंकाको अर्थतन्त्रसँग जोडेर केही पक्षले धमिलो पानीमा माछा मार्न खोजेको उहाँले बताउनुभयो। हाम्रो अर्थतन्त्रमा केही समस्या छन्। तर, ती समस्या हाम्रै पहलमा समाधान गर्न सकिन्छ र अर्थतन्त्रलाई गतिशिल बनाउन सम्भव छ। त्यसका लागि कार्यान्वयनमा रहेका विकास परियोजनालाईलाई सयमसीमा निर्धारण गरी सम्पन्न गर्नुपर्छ र पाइपलाइनमा रहेका परियोजनालाई द्रुत गतिमा कार्यान्वनमा लैजान आवश्यक छ,” उहाँले भन्नुभयो।
अर्थतन्त्रमा दबाब बढ्नुमा बाह्य कारणहरू पनि जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, स्टिल लगायतका वस्तुहरूको उच्च मूल्यवृद्धि भएको र त्यसको प्रत्यक्ष असर नेपाललाई परेको बताउनुभयो। वैदेशिक मुद्राको सञ्चिती जोगाउने प्रयासमा आयातमा गरिएको कडाइले कतिपय अवस्थामा हाम्रो आन्तरिक उत्पादनमूलक उद्योगहरुलाई नकारात्मक असर पर्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराउँदै उहाँले यसले आन्तरिक उत्पादन घट्ने, राजस्व संकलनमा नकारात्मक असर पर्ने र रोजगारी कटौतीका लागि दबाब पर्ने जस्ता समस्या आउन सक्ने भएकाले यस्तो नकारात्मक अवस्थाबाट जोगिन सरकार, निजी क्षेत्र र सरोकारवालाबीचमा गम्भिर गृहकार्य गर्न आवश्यक रहेको बताउनुभयो।
यस्तै, उहाँले युवाहरूलाई भविष्यप्रति उत्साहित बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो। चौधरीले युवाहरू भविष्यप्रति विश्वस्त नहुँदा विदेशिने लहर नै चलेको र देशको विकास अभियानका लागि यो राम्रो संकेत नभएको बताउनुभयो।
हाम्रो ध्यान युवाहरुका लागि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेतर्फ हुनुपर्छ। उनीहरुका लागि आकर्षक रोजगारी सिर्जना गर्नेतर्फ हुनुपर्छ,” सांसद चौधरीले भन्नुभयो, “आगामी वर्षको बजेटले यस बारेमा ठोस कार्यक्रम ल्याउनुपर्छ। बजेट हाम्रा लागि आउने होइन भन्ने युवाहरूको धारणामा परिवर्तन ल्याउँदै उनीहरु उत्साहित हुने बजेट ल्याउनुपर्छ। हामीले युवाहरूलाई केन्द्रमा राखेर सरकारको नीति र बजेट बनाउन सकेनौं भने हाम्रा युवाहरु रोजगारीको खोजीका लागि गोरखपुर पुगेर रेल चढ्ने र कोही युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्ने क्रम जारी नै रहने छ।उहाँले अर्थतन्त्रमा सामान्य समस्या रहेको तर यो समस्या विगत सरकारबाट वर्तमान सरकारलाई हस्तान्तरण भएको विश्लेषण गर्दै थोत्रो गाडीमा इमान्दार ड्राइभर फेर्दैमा गाडी रफ्तारमा कुद्न नसक्ने बताउनुभयो। यसका लागि गाडीकै मर्मतसम्भार जरुरी पर्ने भन्दै उहाँले अर्थतन्त्रमा गत वर्षदेखि नै समस्या भए पनि तत्कालीन सरकारलाई दिइएको सुझाव बेवास्ता गरिएको परिणाम अहिले देखिएको स्पष्ट पार्नुभयो।