चिनियाँ परराष्ट्र मन्त्री तथा पाकिस्तानी विदेशमन्त्रीबीच भेट-वार्ता
2022-05-23 16:49:01CRI
Share with:

मे २२ तारिख चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले क्वाङचौमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जरदारीसँग भेट-वार्ता गर्नुभएको छ।

 

वार्तामा वाङ यीले भन्नुभयोः अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भए पनि चीन-पाकिस्तान सम्बन्ध बलियो र अटल रहँदै जानेछ। पाकिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न, पाकिस्तानमा एकता र स्थायित्व कायम राख्न र पाकिस्तान आफ्नै राष्ट्रिय अवस्थासँग अनुकूल हुने विकासको बाटोमा अगाडि बढ्न चीनले पहिले झैं पाकिस्तानलाई दृढतापूर्वक समर्थन गर्दै जाने छ। साथै वाङ यीले जोड दिँदै भन्नुभयोः आतङ्कवाद विरोधी स्थिति गम्भीर हुँदै गइरहेको पृष्ठभूमिमा दुवै पक्षले सहयोगलाई सबल पार्नुपर्छ। आतंकवाद विरुद्धको लडाइमा चीनले पाकिस्तानलाई निरन्तर सहयोग दिँदै जान चीन तयार छ।

 

वार्तामा पाकिस्तानी विदेश मन्त्री बिलावलले भन्नुभयोः विदेशमन्त्री बनेपछि आफूले भ्रमण गरेको पहिलो देश चीन हो। पाकिस्तान-चीन मित्रता नै पाकिस्तानको कूटनैतिक सम्बन्धको आधार हो र पाकिस्तानको लागि अपरिहार्य छनौट पनि हो। पाकिस्तान एक चीन नीतिलाई दृढतापूर्वक लागू गर्दछ र चीनका सबै मूल हितको रक्षा गर्न चीनलाई दृढतापूर्वक समर्थन गर्दछ।

 

प्राप्त जानकारी अनुसार, वार्तामा दुवै पक्षले चौतर्फी रूपमा व्यावहारिक सहयोगलाई अझ गहन बनाउँदै चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई सुरक्षित, सहज र उच्च गुणस्तरीय रूपमा अगाडि बढाउन सहमत भएका छन्। साथै बहुपक्षीय क्षेत्रमा सहयोग सुदृढ गर्ने सहमति पनि भएको छ। दुवै पक्षले महामारी विरुद्धको सहकार्यलाई सुदृढ गर्दै जाने सहमति पनि जनाएका छन्।

 

दुबै पक्षले अफगानिस्तान सम्बन्धमा पनि वैचारिक आदानप्रदान गर्दै अफगानिस्तानका छिमेकीका विदेश मन्त्री स्तरिय बैठकको उपलब्धिको कार्यान्वयनलाई अगाडि बढाउन सहमति पनि जनाए।

 

वार्तापछि दुवै पक्षले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।