वन्यजन्तु अपराध नियन्त्रण क्षेत्रीय तालिम काठमाडौंमा सुरु
2022-05-24 16:25:30CRI
Share with:

दक्षिण एसियाली मुलुकहरूमा वन्यजन्तु र तिनका अगंको चोरीनिकासी र त्यससम्बन्धी अपराध नियन्त्रणबारे छलफल गर्न ‘साउथ एसिया वाइल्ड लाइफ इन्फोर्समेन्ट नेटवर्क’ (सावेन) मा रहेका सात वटा मुलुकका अधिकारीहरु काठमाडौंमा भेला भएका छन् ।

सावेनले आयोजना गरेको ‘वन्यजन्तु अपराध नियन्त्रण स्टार्न्डर्ड तालिम’मा सदस्य मुलुकहरुबीच वन्यजन्तु र तिनका अंगहरुको चोरी सिकार र त्यसको नियन्त्रणमा भएका प्रयासबारे छलफल हुनेछ । क्षेत्रीय तालिमको सोमबार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले उद्घाटन गरेका छन् ।

 

तालिममा सावेनका सदस्य दक्षिण एसियाली मुलुकमा वन्यजन्तु संरक्षण र अपराध हेर्ने अधिकारी, अन्तर्राष्ट्रिय प्रहरी संगठन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाली सेनाका अधिकारी सहभागी छन् ।

 

उद्घाटनपछि मन्त्री यादवले नेपाल जैविक विविधता संरक्षणमा कोशेढुंगा सावित भएको बताउँदै पाटे बाघको संख्या दोब्बरको संघारमा पुगेको बताउनुभयो। उहाँले संरक्षणमा जनताको प्रत्यक्ष सहभागिताका कारण वन्यजन्तुको संरक्षण सफल भएको र एकसिंगे गैंडाको चोरी शिकार शून्य गर्न सफलता मिलेकोसमेत चर्चा गर्नुभयो।

 

वन्यजन्तु र वातावरणीय अपराध नियन्त्रणलाई सरकारले प्राथमिकता दिएका कारण सफलता हात पारेको सुनाउँदै मन्त्री यादवले प्राप्त सफलताका कथा साझा गर्न सकिए र सूचना एवं अन्य सहयोग आदान प्रदान गर्न सकिए वन्यजन्तु संरक्षणका साथै अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

‘हामीले आ आफ्ना सीमावर्ती क्षेत्रलाई कडाई गर्न सक्यौं र कानुन कार्यान्वयन गर्न सक्यौं भने अपराध नियन्त्रणमा सहयोग पुग्छ’, उहाँले भन्नुभयो, ‘यो तालिमले जनशक्तिलाई थप सशक्त बनाउन र कानुन कार्यान्वयनमा सहयोग गर्ने विश्वास छ ।’

 

राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले वन्यजन्तु अपराध नियन्त्रण गर्न र सदस्य मुलुकहरुलाई सशक्त बनाउन साबेनले सुरुदेखि नै सहयोग गर्दै आएको बताउनुभयो। सन् २०१० मा स्थापना भएको सावेनको सचिवालय काठमाडौंमा छ। सार्क सचिवालयमाजस्तै साबेनमा पनि महासचिव नियुक्ति गर्ने उद्देश्य राखिएको थियो, तर अहिलेसम्म त्यो लक्ष्य पूरा हुन सकेको छैन ।