जात व्यवस्थाविरुद्व प्रतिरोध दिवस मनाइँदै
2022-05-24 16:27:28CRI
Share with:

रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ। तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् । नागरिक समाज र अधिकारकर्मीले पीडितलाई न्याय दिन माग गर्दै यो दिनलाई जात व्यवस्थाविरुद्व प्रतिरोध दिवसको रुपमा मनाउँदैछन् ।

 

बृहत् नागरिक आन्दोलनसहित विभिन्न संघसंस्थाले मंगलबार काठमाडौंको माइतीघरदेखि घटनास्थल भेरी किनारसम्म दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रम हुँदैछन् ।

 

बृहत् नागरिक आन्दोलनले दिउँसो १२ बजे माइतीघर मण्डलामा जात व्यवस्थाविरुद्वको प्रतिरोधमा कविता वाचन, नाटक प्रदर्शन र खबरदारी सभा गर्ने जनाएको छ । त्यस्तै, कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा भेरी प्रतिरोध मार्च गर्दैछन् । त्यसकालागि काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट न्यायका लागि दबाब दिँदै अधिकारकर्मीहरु भेरी किनार पुगेका छन् ।

मंगलबार साँझ पाटन दरबार क्षेत्रमा दिप प्रज्वलन गर्ने कार्यक्रम छ । घटनामा दोषीलाई कारबाही गर्नुको सट्टा तोडमोड गरी सरकार नै भवितव्य घटनाको रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको पीडितको गुनासो छ । यस्तै, जात व्यवस्था उन्मूलन मोर्चाले विद्रोह दिवसको रुपमा देशैभरि कार्यक्रम गर्दैछ।