गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छुट सुविधा
2022-05-26 15:56:19CRI
Share with:

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमान कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधा दिइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि ती सुविधा दिने निर्णय गरेको हो। विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार एक वर्षसम्मका लागि अवतरण, सुरक्षा, सञ्चार र उड्डयन सेवालगायतका शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरिसकेको छ। सेवा सञ्चालन गर्ने विमान कम्पनीले विमानको तौलका आधारमा विमानस्थल व्यवस्थापन गर्ने निकाय प्राधिकरणलाई यस्तो शुल्क तिर्नुपर्छ ।

हाल उडान भरिरहेको जजिरा एयरवेजको विमान ७८ हजार केजीको छ। ती सबै शुल्क छुट गर्दा उक्त विमान कम्पनीलाई एक पटकको अवतरणमा करिब एक लाख रुपियाँ छुट हुन जाने महाप्रबन्धक दाहालले बताउनुभयो।

 

जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न वैदेशिक रोजगारीका गन्तव्य खाडी मुलुक र बौद्ध धर्मावलम्बी बाहुल्य मुलुकका वायुसेवा कम्पनीले चासो देखाएको भए पनि अन्तिम निर्णय भइनसकेको दाहालले जानकारी दिनुभयो। विभिन्न देशका वायुसेवाहरूले उडानका लागि चासो देखाएकाले आगामी दशैँसम्ममा यो विमानस्थलबाट दैनिक १० देखि १५ वटा उडान हुने अपेक्षा आफूहरूले राखेको महाप्रबन्धक दाहालले बताउनुभयो।

गोरखापत्र अनलाइनका अनुसार एयर अरेबिया, भियतनाम, कम्बोडिया, थाइल्यान्डको स्माइल, ओमानको सलाम एयरलगायतका विभिन्न एयरलाइन्स संस्थाले पनि करिब एक महिनाअघि छलफल गरेको पनि उहाँले बताउनुभयो।