विश्वकै उत्कृष्ट शहर बनाउने काठमाडौंमा नवनिर्वाचित मेयरको भनाइ
2022-05-27 16:01:31CRI
Share with:

काठमाडौं महानगरपालिका प्रमुखमा नवनिर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

महानगरको अन्तिम मतपरिणामको घोषणा पश्चात साहले स्थानीय निर्वाचनको मतपरिणाम कुनै विजयीभन्दा पनि एउटा कार्यको सुरुवातको रुपमा लिएको धारणा व्यक्त गर्नुभयो ।“हाम्रो भिजन, एजेण्डालाई अबको पाँच वर्षमा पूर्णरुपमा कार्य सम्पन्न गनेए धारणा रहेको छ । सम्पूर्ण नगरबासी, साथीभाई, परिवारजन, सधैँ हामी परिवार थियौं, सधैं परिवार नै रहनेछौं,” उहाँले बताउनुभयो। काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट शहर बनाउने आशा रहेको भन्दै उहाँले संक्षिप्त प्रतिक्रिया दिनुभएको गोरखापत्र अनलाइनमा खबर छ।

 

यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयरमा विजयी सुनिता डंगोलले आफूले जनताको सेवकका रुपमा काम गर्ने बताउनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपमेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि मतदातालाई शुक्रबार सम्बोधनका क्रममा डंगोलले काठमाडौं महानगरपालिकालाई जीवन्त बनाउने वाचा गर्नुभयो। उहाँले आफू जनताको सेवक बन्न तयार भएर चुनावी मैदानमा उत्रिएको पनि बताउनुभयो।

अब आफूहरुको पहिलो प्राथमिकता काठमाडौं सुन्दर बनाउने रहेको बताउँदै उहाँले मतदाताको आशाको दीपलाई कदापि मर्न नदिइने पनि बताउनुभयो। उहाँले जिताउन जसरी जनताले साथ दिए, त्यसैगरी काठमाडौंको विकास गर्न पनि साथ दिन अपील पनि गर्नुभएको नेपालखबर अनलाइनले लेखेको छ।