कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको चीनसँगको सिधा उडान मङ्गलबारदेखि सञ्चालनमा आउने
2022-05-27 15:26:13CRI
Share with:

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको चीनसँगको सिधा उडान मङ्गलबार (जेठ १७)देखि सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ लगानीकर्ताको लगानी रहेको हिमालय एयरलाइन्सले मङ्गलबारदेखि चीनको कुनमिङ उडान सुरु गर्न लागेको हो। जेठ १७ गते (मे ३१)देखि साताको एक उडान गर्ने सो एयरलाइन्सले जनाएको छ। महामारीको कारण देखाउँदै दुई वर्षअघि चीन सरकारले नेपालबाट हुने सिधा उडान रोकेपछि कार्गो उडान मात्रै हुँदै आएको थियो । 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिकासमेत पाइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “महामारी सुरु भएसँगै बन्द भएको नियमित उडान सञ्चालनको बाटो खुलेको छ । क्यानबाट व्यावसायिक उडानको अनुमति पाएसँगै उडान तालिका स्वीकृत भएको छ ।” 

यो दुई वर्षको अवधिमा थुप्रै चार्टर्ड उडान भए पनि नियमित उडान सुरु हुन नसक्दा नेपाल–चीनबीच आवागमनमा समस्या पर्दै आएको छ। सिधा उडान बन्द रहेकै कारण नेपाल आउने चिनियाँ पर्यटक समेत घटेका छन्। अहिले कुनमिङ उडानका लागि बुकिङ खुला गरेको जानकारी दिँदै एयरलाइन्सले यात्रु अकुपेन्सी तथा उडान अनुमतिका आधारमा थप गन्तव्यमा उडान सञ्चालनमा ल्याउने जनाएको कुरा गोरखापत्र अनलाइनले लेखेको छ।

महामारीअघि हिमालय एयरलाइन्सले काठमाडौँबाट चीनको बेइजिङ, छाङ्सा, नानछाङ, खुनमिङ उडान गर्दै आएको थियो। चीनको पर्यटकीय सहर छोङछिङमा आफ्नो पहिलो व्यावसायिक उडानबाट चीनको हवाई बजारमा प्रवेश गरेको एयरलाइन्सले अलि, शनचन, हाइखौ, नानछाङ लगायतका आधा दर्जन गन्तव्यमासमेत उडान विस्तार गर्दै जाने योजना तय गरेको छ। 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान गर्ने तयारी गरेको छ। निगमले अहिलेसम्म स्लट पाएको छैन। नेपाल–चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका सातवटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, शाङ्घाई, ल्हासा, क्वाङ्चौ, खुनमिङ, छङ्तु र सियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।