“महिनावारी पाप होईन, पोषिलो खानेकुरा र सरसफाइमा ध्यान दिनुपर्छ”
2022-05-28 16:22:10CRI
Share with:

चिकित्सकका अनुसार महिलाको गर्भाशयमा भएको रगत योनीबाट निष्कासन हुने प्रक्रिया नै महिनावारी हो । महिनावारी भनेको एउटा केटीको शारीरिक रुपमा परिपक्क भएको जानकारी दिने एक प्राकृतिक प्रकिया भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा कीर्तिपाल सुवेदी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “महिनावारी भएपछि महिलालाई परिपक्क भएको र आमा बन्न सक्षम भएको संकेत गर्छ ।” साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । महिनावारीको चक्र २८ दिनको हुने गर्दछ । महिनावारी भएपछि महिलालाई परिपक्क भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्छ तर नेपाल लगायत दक्षिणपूर्वी एशियामा महिनावारीलाई पापको रुपमा हेर्ने गर्दछन्। 

महिनावारी भएको बेलामा अवहेलना होईन पोषिलो खानेकुरा खुवाउनुका साथै सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ । महिनावारी स्वच्छतामा ध्यान नदिदाँ योनीमा खटिरा आउने यौनीमा अस्वभाविक रुपमा दुर्गन्धित पानी बग्ने र मुत्र संक्रमण जस्ता समस्या देखिने चिकित्सक बताउँछन् । 

ज्यामिन आइजिन प्रडक्ट नेपालले २०१९ मा गरेको अध्ययन अनुसार नेपालमा एक करोड महिला महिनावारी हुने उमेरका छन्। प्रत्यक दिन तीन जना मध्ये एक जना महिनावारी हुने गर्दछन् । महिनावारी भएका २ Þ५ प्रतिशत महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्ने उक्त अध्ययनले देखाएको छ। नेपालमा महिनावारी भएको बेलामा छाउगोठमा बस्दा बर्षेनी दुई जनाको मृत्युहुने गरेको छ।

नेपालमा नौ प्रतिशत महिला महिनावारीको समयमा सामाजिक  तथा सास्कृतिक जीवनबाट बञ्चित हुने गर्दछन् । वाटर एड नेपालको तथ्याङ्क अनुसार ८० प्रतिशत महिलाहरु महिनावारी भएका बेला आधारभूत खानेपानी तथा सरसफाई सुविधाबाट वञ्चित छन् ।

 ५३ प्रतिशत छात्राहरु महिनावारी भएका दिनहरुमा विद्यालय छोडी घरमा बस्ने गरेका छन् । ३१ प्रतिशत सार्वजनिक विद्यालयहरुका लागि छुटै शौचालय छैन। ५० प्रतिशत छात्राहरु महिनावारी अवधिभर विद्यालय जाँदैनन । कोही पनि विद्यार्थी विद्यालय जानबाट बञ्चित नहुँन भनेर २०७७ सालबाट सरकारले विद्यालयमा निशुल्क प्याड वितरण गर्दै आएको छ ।

मे २८ का दिन महिनावारी सम्बन्धि जनचेतना फैलाउन अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइन्छ । यसपालीको अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको मुल नारा “विद्यालयमा मर्यादीत महिनावारी : हामी सबैको जिम्मेवारी भन्ने रहेको छ ।” गोरखापत्र।