नेपालमा १५औँ गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना
2022-05-29 17:12:17CRI
Share with:

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस। निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन। 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

यसैबीच— राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। आइतबार जारी शुभकामना सन्देशमा भनिएको छ, 'यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ। वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको सन्देशमा छ ।

यसैगरी— प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएको बताउनुभयो। उहाँले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गर्नुभयो।

प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गर्नुभयो। कान्तिपुर अनलाइनका अनुसार २०६५ जेठ १५ गते संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ।

प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताउनुभयो।  उहाँले शुभकामना सन्देशमा भन्नुभयो, 'संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौँ ।' 

गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा संविधानसभाबाट संविधान जारी हुनु, संविधानले परिकल्पना गरेका विभिन्न संवैधानिक अंग तथा निकाय पूर्णरूपमा सञ्चालनमा आउनु तथा संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारको निर्वाचन सम्पन्न भई मुलुकमा विधिको शासन स्थापना हुनुजस्ता महत्त्वपूर्ण कार्य सम्पन्न भएको उहाँले जनाउनुभयो। शासन प्रणालीमा सबै जनाको सहभागिता, स्वामित्व र अपनत्व स्थापित हुनसकेको र नागरिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति भएर मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको प्रधानमन्त्री देउवाको भनाइ छ ।