अबको एक वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुने कृषिमन्त्रीको दाबी
2022-05-29 17:22:41CRI
Share with:

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ। एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताउनुभएको हो।

उहाँले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउनुभयो। मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको बताउँदै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। उहाँले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताउनुभयो। नागरिकन्यूज डटकमका अनुसार उहाँले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पार्नुभयो। उहाँले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताउँदै नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको टिप्पणी गर्नुभयो।

उहाँले कृषिका उत्पादनका लागि किसानले बजार नपाउने समस्या रहेको बताउनुभयो। यादवले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन नहुनुले पनि कृषिमा थप समस्या सिर्जना भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स-साना गोदाम बनाउन बजेट छुट्याउने उहाँको भनाइ थियो।