संसारकै सबैभन्दा उच्च स्थानमा एभरेस्ट म्याराथन सम्पन्न
2022-05-30 16:28:07cri
Share with:

संसारकै सबैभन्दा उच्च स्थानमा दौडँदै त्रिभुवन आर्मी क्लबका धावक तीर्थबहादुर तामाङले १७ औं तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि जित्नु भएको छ। उहाँले आइतबार सगरमाथा आधारशिविरदेखि नाम्चेसम्मको ४२ दशमलब १९ किमिको दूरी ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पूरा गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ । राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ५९ सेकेन्डबाट दोस्रो हुनुभयो । स्थानीय धावक सुमन कुलुङ ३ घण्टा ५३ मिनेट १० सेकेन्डबाट तेस्रो हुनुभयो । उहाँहरू खुला म्याराथनतर्फ विजेता हुनु भएको हो।

महिलातर्फ म्याराथनको उपाधि पूर्णिमाया राईले जित्नुभयो । उहाँले ५ घण्टा १९ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्नुभयो। दोस्रो र तेस्रो क्रमशः अमलधानी राई र सेविका राई विजयी हुनुभयो । उहाँहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गर्नुभयो।

म्याराथनका लागि लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति लुम्बिनी टर्च (बुद्ध फ्लेम) सगरमाथा बेसक्याम्प पुर्‍याइएको थियो । लुम्बिनी टर्चलाई बेसक्याम्प परिक्रमा गराई आइतबार बिहान ७ बजे म्याराथन सुरु गरिएको थियो । ७३ वर्षीय ब्राजिलियन धावक विल्सन कार्लोस ब्रोन्ज कोत्रिमले टर्च उचालेर दौड सुरु गर्नुभयो।

सगरमाथामा पहिलो पटक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ६९ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा म्याराथन हुँदै आएको छ । कोभिड–१९ का कारण दुई वर्ष रोकिएको म्याराथनको यो १७ औं संस्करण हो ।

लुम्बिनीदेखि बुद्ध फ्लेम ओलम्पियन वैकुण्ठ मानन्धरले नाम्चेसम्म ल्याउनु भएको थियो । ‘विश्वकै अग्लो स्थानमा दर्गुन पाउनु सबैका लागि गर्वको अनुभूति हुन्छ,’ म्याराथनका परिकल्पनाकार विक्रम पाँडेले भन्नुभयो, ‘साहसिक रोमाञ्चक अनुभव उस्तै पाउँछन् ।’

म्याराथन बेसक्याम्पको सिरानस्थित खुम्बु आइसफल छेउबाट सुरु भएको हो । करिब ३ किमि हिउ छिचोल्दै खेलाडी अघि बढेका थिए । लालीगुराँसको मनमोहक रसस्वादन लिँदै ट्रेल रनिङको आनन्द लिँदै दौड्नुमा आनन्दको सीमा नभएको धावक सुमन कुलुङले बताउनुभयो।

३५ वर्षे तीर्थले एक लाख रुपैयाँ पुरस्कार जित्नुभयो । राजकुमार र सुमनले क्रमशः ७५ हजार र ५० हजार जित्नुभयो । ‘संसारकै अग्लो ठाउँमा दौडेर पुरस्कार जित्दा निकै खुसी छु,’ विजेता तीर्थले भन्नुभयो, ‘दौड्न पूरा गर्न निकै कठिन र जोखिम भए पनि दगुर्दा सबै दुःखकष्ट भुलें ।’ प्रतियोगितामा २५ मुलुकका ६७ पुरुष र २९ महिला तथा नेपाली ४८ पुरुष र ११ महिला सहभागी थिए ।

विदेशीतर्फ म्याराथनमा स्विस धावक बेनहर्ड विजेता हुँदा रोमानियाका ड्रागोस र बेलायतका बेन्जामिन क्रमशः दोस्रा र तेस्रा हुनुभयो । २१ किमि खुला हाफ म्याराथनको उपाधि सबै विदेशीले जित्नुभयो । जर्मनीकी भेरेना स्केलिमियारले जित्नुभयो । उहाँले ३ घण्टा ६ मिनेट ३४ सेकेन्डमा पुरा गरेर उपाधि जित्नु भएको हो । रोमानियाकी एलेना फुर्तेले ३ घण्टा २८ मिनेट १७ सेकेन्डबाट दोस्रो हुनुभयो । जर्मन नागरिक डाइटमर स्टुप्ट ३ घण्टा ३० मिनेट १९ सेकेन्डबाट तेस्रो हुनुभयो । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाएका छन् ।

६० किमि खुला अल्ट्रा म्याराथन अर्जुन राई कुलुङले जित्नुभयो । दोस्रो र तेस्रो क्रमशः गोपाल तामाङ र दुर्गाराज बुढा हुनुभयो । उहाँहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

 ‘विश्वकै कठिन र हाइअल्टिच्युड लाग्ने ठाउँमा दौड पूरा गर्न सबै लालयित हुन्छन्,’ इभेन्ट म्यानेजर शिखर पाण्डेले भन्नुभयो ।