सूर्योदय हेर्न केबलकारबाट सराङकोट
2022-06-01 15:49:59cri
Share with:

पोखराको सराङकोटबाट सूर्योदयको दृश्यावलोकन गर्न एकाबिहानै पर्यटकको घुँइचो लाग्छ। निजी वा भाडाका सवारीसाधनमा पर्यटक सराङकोट पुग्ने गरेकामा अहिले भने विकल्पका रूपमा आएको केबलकारमा आकर्षण देखिएको छ। अन्नपूर्ण केबलकार प्रालिले गत वर्ष फागुन ६ बाट सञ्चालनमा ल्याएको केबलकार चढेर पर्यटक सूर्योदय हेर्न सराङकोट पुग्ने गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

तल्लो स्टेसन फेवाताल किनारको सेदीबगरबाट ९ मिनेटमै माथिल्लो स्टेसन सराङकोट पुगिन्छ। झन्डै दुई अर्ब रुपैयाँ लागतमा बनेको केबलकारको लम्बाइ २.४ किलोमिटर छ। केबलकारमा १७ गोन्डोला (क्याबिन) छन्। एउटामा ८ जना बस्न मिल्छ। केबलकारको माथिल्लो स्टेसनमा भ्युटावर, बगैंचा, रेस्टुरेन्ट, कफी सप र पार्किङको व्यवस्था छ। तल्लो स्टेसनमा समेत रेस्टुरेन्ट र पार्किङ छ।

मनकामना, चन्द्रागिरि, कालिञ्चोकपछिको यो नेपालको चौथो केबलकार हो। नेपालीले सात सय, सार्क राष्ट्रका पर्यटकले आठ सय र तेस्रो मुलुकका नागरिकले ९ डलर तिरेर केबलकार चढ्न सक्छन्। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको सुविधा छ।

जापानी नागरिक ताकासी मियाहाराको परिकल्पनामा केबलकार बनेको हो। उनले सराङकोटमा होटल अन्नपूर्ण भ्यु सञ्चालनमा ल्याएका छन्। केबलकारको माथिल्लो स्टेसन वरिपरि साहसिक गतिविधि जिपलाइन, स्विङ, स्काई साइक्लिङ सञ्चालनमा छन्। छोटो समयमै सूर्योदय हेर्ने वैकल्पिक बाटोका रूपमा अन्नपूर्ण केबलकार स्थापित भइरहेको प्रालिका महाप्रबन्धक दिनेश पौडेलले बताउनुभयो। ‘उत्तरका हिमशृंखला र दक्षिणमा फेवाताल, पोखरा सहर हेर्दै केबलकार चढ्नुमा बेग्लै आनन्द छ,’ उहाँले भन्नुभयो, ‘पोखरा घुम्न समय अभाव हुनेका लागि पनि केबलकार गतिलो माध्यम हो।’

केबलकारमा ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। बिहान ५ बजेबाट साँझ सूर्यास्तसम्म केबलकार चल्छ। साताभरि सञ्चालन हुने केबलकारमा हाल दैनिक ४ सयभन्दा बढीले सेवा लिइरहेका छन्। बिदाको दिन उक्त संख्या बढ्छ। तल्लो स्टेसन सेदी बगरसम्म पुग्न र फर्किन लेकसाइडको फिस्टेल गेटदेखि नि:शुल्क सटल बसको व्यवस्था कम्पनीले गरेको छ।

पर्यटकको संख्यामा वृद्धि हुँदै जाँदा क्याबिन थप्ने योजना रहेको महाप्रबन्धक पौडेलले बताउनुभयो। ‘कोरोना महामारीले गर्दा २–३ वर्ष ढिलो सञ्चालनमा आयो,’ उहाँले भन्नुभयो, ‘अब विदेशी पर्यटकको आगमन पनि वृद्धि हुँदै जाने आशा छ। अहिले नेपाली र भारतीय पर्यटकले बढी सेवा लिइरहेका छन्।’ आफ्नै ठाउँमा बनेको पहिलो केबलकार चढ्न पोखरावासी सपरिवार पुग्ने गरेको उहाँले सुनाउनुभयो।