यो सिजनको सगरमाथा आरोहण सम्पन्न
2022-06-01 15:39:10cri
Share with:


जारी सिजनमा ५ सय ६० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। आरोही र शेर्पाहरुको सहयोगी टोली गरेर यो संख्यामा आरोहण भएको पर्यटन विभागले जनाएको कारोबार अनलाइनले लेखेको छ।
विभागका शाखा अधिकृत भीष्मराज भट्टराईले भन्नुभयो, “यो सिजनका लागि विभागबाट ४ सय २५ ले सगरमाथा आरोहणको अनुमति प्राप्त गरेका थिए। यसमा सहयोगी शेर्पालगायत थपिँदा ५ सय ६० पुगेको हो।”
यो सिजनमा ५९ देशका ४ सय २५ जनाले आरोहण अनुमति लिएका थिए, जसमा अमेरिकी नागरिक सबैभन्दा बढी रहेको विभागले जनाएको छ। दोश्रोमा बेलायती नागरिक, तेश्रोमा भारतीय र चौथोमा नेपालीले अनुमति लिएका छन्। विभागका अनुसार जारी सिजनको आरोहण अनुमति लिने र आरोहाण गर्ने क्रम लगभग पूरा भएको छ। अबको एक महिनामा सगरमाथा आरोहणको आधिकारिक तथ्यांक प्राप्त हुने विभागले बताएको छ।
सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिरे पुग्छ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ। जारी सिजनमा सगरमाथा आरोहणबाट ४० करोड रुपैयाँ राजस्व संकलन भएको छ। जारी सिजनमा सगरमाथा आरोहणका क्रममा गएका ३ नागरिकको मृत्यु भएको छ, जसमा २ नेपाली र १ विदेशी छन्।