कुवेत उडान काठमाडौंभन्दा भैरहवाबाट सस्तो
2022-06-02 17:37:19cri
Share with:

यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ। जजिराले काठमाडौंसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ। यस विमानस्थलबाट तेश्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमानसेवा कम्पनी हो।

“भैरहवा–कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो संख्यामा यात्रु पाएका छौं,” जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भन्नुभयो। काठमाडौं–कुवेतको भन्दा भैरहवा–कुवेतको हवाई भाडा निकै सस्तो छ। भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। “यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरु बढी रहेका छन्। अहिलेसम्म भैरहवा–कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशतभन्दा बढी यात्रु उडेका छन्। हामीले जुन अपेक्षा गरेका थियौं, त्यसको कैयौं बढी राम्रो रहेकोले निकै उत्साहित छौं,” म्यानेजर रंगनाथले भन्नुभयो।
कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि पूर्ण रुपमा सहयोग गरेको उहाँले बताउनुभयो। “सरकारले एक वर्षको लागि ल्यान्डिङ, पार्किङ शुल्क निःशुल्क गरेको छ, यो निकै राम्रो कुरा हो। भैरहवाबाट उडान भर्दा जुन सहयोग नागरिक उड्डयनबाट पाइएको छ, त्यो अहिलेसम्म अरु कहीँ पाइएको थिएन,” रंगनाथले भन्नुभयो। जजिराले एक पटक विमानस्थल प्रयोग गरेबापत विमानस्थललाई बुझाउनुपर्ने २ लाख २५ हजार रुपैयाँ शुल्क छुट पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर शाहले बताउनुभयो।
“सरकारको यो छुटको निर्णयले गर्दा पनि जजिराले कुवेतको हवाई भाडा दर सस्तो राखी यात्रुलाई सुविधा दिएको हो,” रंगनाथले भन्नुभयो। नेपालका तराईका जिल्लाका हवाई यात्रुलाई खर्च र समयको हिसाबले पनि काठमाडौं भन्दा भैरहवाबाट उडान भर्न सस्तो र सजिलो रहेको उहाँको दाबी छ। यही कारणले यात्रुको रोजाइ जजिरा एयरवेज बन्दै गरेको उहाँले बताउनुभयो।
जेठ दुई गतेदेखि जजिरा एयरवेजले हप्तामा तीन पटक कुवेत–भैरहवा उडान गर्दै आएको छ। जजिराको ‘एयरबस ३२० निओ’ विमानले सोमबार, बुधबार र शुक्रबार नियमित रुपमा भैरहवाका लागि उडान गर्दै आएको छ। व्यावसायिक उडानका हिसाबमा आफूहरु निकै सन्तुष्ट रहेको र छिटै उडान संख्या बढाउँदै दैनिक गर्ने योजना पनि हुन सक्ने कम्पनीको भनाइ छ।
उडान सञ्चालन गरेदेखि नै भैरहवा–कुवेतका लागि यात्रुको कमी नरहेको र कुवेत जान काठमाडौंबाट श्रम स्वीकृति लिएका कैयौं नेपाली श्रमिक भैरहवा पायक पर्ने भएकाले काठमाडौंको सट्टा भैरहवाबाट उड्ने गरेको पर्यटन व्यवसायी एवं बोनजोर ट्राभल्सका प्रबन्ध निर्देशक सन्जिव जोशीले बताउनुभयो। जजिराले कुवेतबाट आफ्नो १७ वटा एयरबस जहाजबाट विभिन्न देशका ४५ गन्तव्यमा उडान भर्दै आएको छ। तीमध्ये दुई गन्तव्य काठमाडौं र भैरहवा हुन्।